काठमाडौं । चालु आर्थिक वर्ष पहिलो चार महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा विप्रेषण वृद्धिदर ९.४ प्रतिशतमा सीमित थियो ।
केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा मात्रै १३३ अर्ब ८२ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ, जुन गत वर्षको सोही महिनाको ११४ अर्ब ३१ करोड रुपैयाँभन्दा उल्लेख्य बढी हो । अमेरिकी डलरमा गणना गर्दा पनि विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड डलर पुगेको छ, जब कि अघिल्लो वर्ष यस्तो वृद्धि ८.२ प्रतिशत मात्र थियो ।
विप्रेषण वृद्धिसँगै देशको खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि मजबुत देखिएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय ७५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । यसले विदेशी आय स्रोतमा नेपाल अझै ठूलो रूपमा निर्भर रहेको तथ्यलाई पुनः उजागर गरेको छ । यद्यपि विप्रेषण वृद्धिको आधार भने श्रम बजारमै केन्द्रित देखिन्छ ।
राष्ट्र बैंकका अनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १ लाख ४७ हजार ४७८ थियो ।
नयाँ श्रम स्वीकृतिमा सामान्य गिरावट देखिए पनि पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ । यस अवधिमा १ लाख २७ हजार ८३७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जुन गत वर्षको सोही अवधिको ९४ हजार १०५ भन्दा उल्लेख्य बढी हो ।
नयाँ कामदारभन्दा पनि विदेशमा रहेका श्रमिकको निरन्तर बसाइ र स्थिर आम्दानीका कारण विप्रेषण बढेको देखिन्छ । एकातर्फ पुनः श्रम स्वीकृति लिनेको ख्या बढ्नुले विदेशमा दीर्घकालीन श्रम बसाइको प्रवृत्ति बलियो हुँदै गएको संकेत गर्छ भने अर्कोतर्फ आन्तरिक रोजगारी सिर्जनामा अपेक्षित सुधार नआएको यथार्थ गरेको छ ।



प्रतिक्रिया दिनुहोस्