ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणमा मिलापत्रकाे लागि दबाब दिएको भन्दै सिबिफिनको आपत्ति


काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघले ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणको भत्र्सना गरेको छ । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरू माथि आक्रमण भएको थियो ।

कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा समाधानका लागि ऋणीकै आग्रहमा छलफल गर्न जाँदा अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले कर्मचारीहरुलाई नियोजित रुपमा घण्टौसम्म कब्जामा लिइ गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको सिबिफिनले भत्र्सना गरेको हो ।

सिबिफिनले भनेको छ, “यस्तो आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिन कडा आपत्ति प्रकट गर्दछ ।”

स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र कर्मचारीहरुको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने गरी घटाइएको घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष माग गरेको छ ।

सिबिफिनले भनेको छ, “लाखौँलाख ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, आम जनतामा भ्रम सृजना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने, वा आफ्नो कर्तव्यपालनमा असुरक्षित एवं असमर्थ बनाउनेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरुले प्रश्रय पाइरहेकोप्रति नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।”

“बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए बैंक तथा वित्तीय संस्थाको माथिल्लो व्यवस्थापनसमक्ष वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाईसमक्ष समेत उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून आफ्नै हातमा लिएर घटाइने यस प्रकारका निन्दनीय कार्यले बैंकिङ क्षेत्र मात्र नभई समग्र मुलुककै भविष्य अन्धकारतर्फ धकेलिन सक्नेतर्फ संवेदनशील भइदिन सरोकारवाला सम्पूर्ण पक्षहरुमा हार्दिक अनुरोध गर्दछौँ,” सिबिफिने भनेको छ ।

बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सुरक्षा प्रबन्ध मिलाउन र बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघ, प्रदेश, स्थानीय सरकार र गृह मन्त्रालयसहित जिम्मेवार निकायहरुसँग सिबिफिनले अपिल गरेको छ ।