रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाइ


काठमाडाैँ । नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको सौराहाबाट विदाइ गरिएको छ ।

चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई विदाई गरिएको हो । हात्तिहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई फलफूल खान दिएर बिदाई गरिएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त लगायतले हात्तिलाई माला लगाइदिएका थिए । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो ।

सोहीअनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका सात वर्षकी रूद्रकली र ६ वर्षको खगेन्द्रप्रसादलाई उपहार स्वरुप कतार पठाउन लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. पन्तले जानकारी दिए।

उनले विदाई गरिएका हात्तिहरूलाई भैरहवा विमानस्थलबाट पुस २ गते पशु सेवा प्राविधिक र दुई जना माउतेहरुसहित चाटर्ड विमानमार्फत कतार पठाईने बताए। उनले औपचारिक रुपमा भने भैरहवा विमानस्थलबाट नै कतार सरकारलाई हस्तान्तरण गर्न तयारी रहेको जानकारी दिए । 

नेपालले पहिलो पटक अन्य देशलाई हात्ती उपहार दिन लागेको हो । कतारले चार्टर विमानमार्फत खोरसहित हात्तीहरूलाई कतार लानेछ । रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू पनि कतार जाँदैछन् । उनीहरूले त्यहाँ एक महिना बसेर हात्तीको स्याहार र त्यहाँका कर्मचारीलाई तालिम दिने डा पन्तले जानकारी दिए ।