नेपालको कुल विदेशी विनिमय सञ्चिती ३० खर्ब ५५ अर्ब रूपैयाँ, भारतीय मुद्राको अंश २१.९ प्रतिशत


काठमाडौँ । २०८२ कात्तिक मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिती ३० खर्ब ५५ अर्ब ५२ करोड रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ कात्तिक मसान्तमा २७ खर्ब २४ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भएको हो ,

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले वद्धि भई ३ खर्ब ३० अर्ब ८५ करोड रूपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

२०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५०.० प्रतिशत, १४४.९ प्रतिशत र ३७.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।