काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले जिल्ला सुनसरी, इटहरीस्थित विभिन्न खाद्य उद्योगको अनुगमन गरेको छ।
अनुगमनको क्रममा गोरखा बेकरी तथा पाउरोटी उद्योगको अवस्था संतोषजनक देखिएको छ भने विष्णु पाउरोटी उद्योगमा नियम उल्लंघन पाइएको छ।
अनुगमन टोलीका अनुसार उक्त उद्योगमा मसिले छापिएको कागज प्रत्यक्ष खानेकुरासँग सम्पर्कमा आएको, बेकरीजन्य वस्तु बनाउन कृत्रिम रङको प्रयोग भएको, लेबल विवरण पूर्ण नभएको, प्रयोग भइरहेका सर्टेनिङ्ग फोहोर अवस्थामा रहेको र म्याद गुज्रिएका सामग्रीहरू प्रयोग भएको देखिएको छ।
त्यसैगरी उत्पादन कक्ष अव्यवस्थित, फोहोर र जालो लागेको अवस्थामा पाइएको छ भने बेकिङ्गका ट्रे सफा नभएको र रसायनको भाडा प्रयोगमा देखिएको छ। निरीक्षणको क्रममा १७ प्याकेट बन, १३ प्याकेट क्रिम रोल, १३ प्याकेट डेनिश, १३ के.जी. भेजिटेबल सर्टेनिङ्ग र २८ के.जी. बेकिङ्ग तयारीमा रहेको डो नष्ट गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले उद्योगले आवश्यक सुधार नगरेसम्म उत्पादन र बिक्री पूर्णरूपमा रोक्ने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्