काठमाडौँ । विद्यालयस्तरको फुटबल प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको आठौँ नेक्सस् कप २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
सोमबार मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमीले लाइसियम प्याराडाइज एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। उपविजेता बनेको लाइसियम प्याराडाइज एकेडेमी फस्ट रनर–अपमा सीमित रह्यो।
समापन समारोह प्याब्सनका महासचिव तथा नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल आरबी कटवालको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्याब्सनका पूर्व अध्यक्ष तथा सल्लाहकार डीके ढुंगाना प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
विजेता टोली नेक्सस् इन्टरनेसनल एकेडेमीले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने द्वितीय स्थान हासिल गरेको लाइसियम प्याराडाइज एकेडेमीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै आयोजक विद्यालयका संस्थापक प्रिन्सिपल कटवालले विद्यार्थीको शैक्षिक प्रगतिको साथसाथै शारीरिक र मानसिक विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने बताए। उनले अनुशासन, नेतृत्व र प्रतिस्पर्धी भावना विकास गर्न नेक्सस् कपजस्ता प्रतियोगिता निरन्तर आयोजना गरिँदै आएको उल्लेख गरे।
प्रमुख अतिथि डीके ढुंगानाले विद्यालय तहबाटै खेलकुदलाई प्राथमिकता दिनु सकारात्मक अभ्यास भएको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भविष्यका सक्षम खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे । उनले आयोजक विद्यालयको प्रयास सराहनीय रहेको पनि उल्लेख गरे ।
प्रतियोगिताका क्रममा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र फेयरप्ले टिमलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै खेल सञ्चालनमा योगदान पुर्याउने रेफ्री तथा निर्णायकहरूलाई पनि मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ।
आठौँ नेक्सस् कपले विद्यालयस्तरको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेलेको सहभागी तथा दर्शकहरूले प्रतिक्रिया दिएका छन्।



प्रतिक्रिया दिनुहोस्