काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
चौथोपटक परिमार्जित निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो ४ बजेदेखि मतदान हुने तय भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने छन् ।
पदाधिकारी तहमा समेत व्यापक प्रतिस्पर्धा देखिएको छ ।
संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।
तीन उपमहासचिव र नौ सचिव पदमा समेत बहुसंख्यक उम्मेदवार मैदानमा रहेकाले नेतृत्व चयन प्रक्रियालाई थप रोचक बनाएको छ । केन्द्रीय सदस्य पदमा त विभिन्न भूगोल, पेशा र समूहबाट हजारभन्दा बढी आकांक्षी प्रतिस्पर्धामा उत्रिएका छन् ।
महाधिवेशनमा सहभागी दुई हजार २६३ प्रतिनिधिको मत सुरक्षित, छरितो र पारदर्शी ढङ्गले संकलन गर्न ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ ।
आयोगका अनुसार प्रतिव्यक्ति मतदान समय २५ देखि ३० मिनेट लाग्ने अनुमान गरिएको छ । यस व्यवस्थाले लामो मतपत्र, बहुपद निर्वाचन र समय व्यवस्थापनको चुनौतीलाई सहज बनाउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्