प्राविधिक कारणले एमाले नेतृत्व चयनको मतदान भोलि बिहान ८ बजेसम्मको लागि सर्‍यो


काठमाडौँ । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्रक्रिया स्थगित भएको छ। केहीबेरमै सुरू हुने भनिएको मतदान प्राविधिक कारणले भोलि बिहान ८ बजेसम्मका लागि सारिएको हो।

एमाले निर्वाचन आयोगले प्राविधिक समस्याका कारण आज मतदान हुन नसकेको जानकारी दिएकाे छ । आयोग अनुसार भोलि बिहान ८ बजे भृकुटीमण्डपमै मतदान प्रक्रिया सुरु हुनेछ।

एमालेले विद्युतीय मेसिनमार्फत मतदान गर्ने तयारी गरेको छ। तर उम्मेदवारहरूको नामावली ढिला प्राप्त हुँदा मेसिनमा विवरण इन्ट्री गर्न समय लागेको बताइएको छ। मेसिन उत्पादक कम्पनीले सोमबार राति मात्र उम्मेदवारहरूको नामावली प्राप्त गरेको थियो र त्यसअनुसार प्रारम्भिक इन्ट्री गरिएको थियो।

पछि पार्टीको निर्वाचन आयोगले उम्मेदवारहरूको नाम वर्णानुक्रममा सच्याएर पुनः पठाएपछि पहिले इन्ट्री गरिएको विवरण मिलाउन थप समय लागेको जनाइएको छ। यही कारण तोकिएको समयमा मतदान प्रक्रिया सुरु हुन नसकेको हो।

मतदानका लागि करिब सयवटा विद्युतीय मेसिन राख्ने तयारी गरिएको छ ।