काठमाडौँ । नेपालको कृषिखाद्य प्रणालीलाई दिगो, समावेशी र नवप्रवर्तनमुखी बनाउने लक्ष्यसहित काठमाडौँमा नेपाल फुड फोरम २०२५ सम्पन्न भएको छ। एफएओ नेपाल, नेपाल सरकार र वर्ल्ड फुड फोरम (डब्लुएफएफ) नेपाल च्याप्टरकाे संयुक्त आयोजनामा सम्पन्न फोरमले नीति प्रतिवद्धतालाई व्यवहारिक, लगानीयोग्य र विस्तारयोग्य समाधानमा रूपान्तरण गर्ने स्पष्ट कार्यदिशा तय गरेको छ।

फोरममा सरकारका उच्च पदस्थ अधिकारी, युवा नवप्रवर्तक, निजी क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता, आदिवासी समुदायका प्रतिनिधि, अपांगता भएका व्यक्तिहरूका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपालको कृषि क्षेत्रले भोगिरहेका संरचनागत चुनौती, जलवायु परिवर्तनको बढ्दो असर, उत्पादनशीलता, बजार पहुँच र रोजगारीका सवालहरूमा गहिरो विमर्श गरेका थिए।

नेपालको कृषिखाद्य प्रणाली रूपान्तरणका लागि संवाद मात्र पर्याप्त नभई अब कार्यान्वयनमा केन्द्रित हुनुपर्ने साझा निष्कर्ष फोरमको प्रमुख सन्देश बनेको छ। जलवायु–स्मार्ट, प्रकृति–मैत्री तथा डिजिटल प्रविधिमा आधारित समाधानहरूलाई अघि बढाउँदै खाद्य सुरक्षा सुदृढीकरण, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना र हरित आर्थिक वृद्धिमा योगदान पुर्याउने विषयलाई फोरमले प्राथमिकतामा राखेको छ।

विशेषगरी युवाको नेतृत्वमा आधारित कृषि व्यवसाय र एग्रिटेक क्षेत्रमा रहेको सम्भावनालाई फोरमले प्रमुख रूपमा उजागर गरेको छ। युवालाई कृषिमा आकर्षित गर्न वित्तीय पहुँच सहज बनाउने, इन्क्युबेसन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा बजारसँगको जोड बलियो बनाउनु अपरिहार्य रहेकोमा सहभागीहरूको जोड थियो। यसले कृषिलाई परम्परागत जीविकोपार्जनबाट आधुनिक, प्रतिस्पर्धी र उद्यमशील क्षेत्रमा रूपान्तरण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी, दीगो उत्पादन र पोषण सुरक्षा सुनिश्चित गर्न बहु–क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा फोरमले जोड दिएको छ। निजी क्षेत्रको सक्रिय सहभागिता, अनुसन्धान र नवप्रवर्तनमा आधारित समाधान तथा प्रमाणमा आधारित नीति निर्माण र प्रभावकारी कार्यान्वयन बिना कृषिखाद्य प्रणालीको रूपान्तरण सम्भव नहुने धारणा व्यक्त गरिएको थियो।

नेपाल फुड फोरम २०२५ ले समावेशिता, जलवायु उत्तरदायित्व र डिजिटल नवप्रवर्तनलाई केन्द्रमा राख्दै संवादलाई कार्यमा रूपान्तरण गर्ने स्पष्ट सन्देश दिएको छ। युवाको सक्रिय भूमिका, सरकारी प्रतिबद्धता र निजी क्षेत्रको सहकार्यमार्फत नेपालको कृषिखाद्य प्रणालीलाई दिगो र लचिलो बनाउने दिशामा फोरमले महत्वपूर्ण आधार तयार गरेको सरोकारवालाहरूले बताएका छन्। यसअघि मधेस फुड फोरम पनि सम्पन्न भइसकेको थियो। एफएओले जेनजी आन्दोलनका कारण सरेकाे नेपाल फुड फोरम सोमबार आयोजना गरेको हो।



प्रतिक्रिया दिनुहोस्