काठमाडौँ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक ब्याचको प्रशोधित पिउँने पानी बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।
फिर्ता गर्न आदेश दिइएको खाद्य पदार्थ ‘प्रशोधित पिउँने पानी ( २० लिटर जार’ हो। उक्त पानीको ब्याच नम्बर JAR-FRI-91 रहेको छ। उत्पादन मिति २०२५ नोभेम्बर २१ उल्लेख गरिएको छ भने म्याद उत्पादन मितिदेखि तीन महिनासम्म कायम रहने जनाइएको छ।
यो उत्पादन भक्तपुरको चाँगुनारायण–२ मा रहेको हेरिटेज बेभरेजले उत्पादन गरेको हो। विभागका अनुसार न्यूनस्तरको खाद्य पदार्थ ठहर भएपछि उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै तत्काल रिकलको निर्णय गरिएको हो।
विभागले नियमित बजार अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलन गरेको नमुनाको प्रयोगशाला परीक्षण गर्दा न्यूनस्तरको पाइएपछि उक्त निर्णय लिएको हो। परीक्षणका क्रममा इष्ट र मोल्डको गणना गर्दा अनुपस्थित हुनुपर्ने अवस्थामा उपस्थित पाइएको विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार सो ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न तथा सोही ऐनको उपदफा (४) बमोजिम बिक्री तथा वितरण नगर्न/नगराउन आदेश जारी गरिएको विभागले स्पष्ट गरेको छ।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले सम्बन्धित व्यवसायीलाई आदेशको पूर्ण पालना गर्न र उपभोक्तालाई उक्त ब्याचको पानी प्रयोग नगर्न आग्रह गरेकी छन्।



प्रतिक्रिया दिनुहोस्