काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यका र सुनसरीको इटहरी उप–महानगरपालिकामा रहेका खाद्य उद्योग तथा व्यवसायमा एकैसाथ निरीक्षण–अनुगमन गर्दै कैयौँ अनियमितता फेला पारी कारबाही गरेको छ।
विभागका अनुसार गत मंसिर २८ गते काठमाडौँ उपत्यकामा गरिएको अनुगमनमा काठमाडौँ महानगरपालिका–१४ स्थित श्री न्यौपाने तेल मिल र श्याम बेकरी उद्योगको अवस्था जाँच गरिएको थियो।
अनुगमनका क्रममा न्यौपाने तेल मिलमा सरसफाइको अवस्था सामान्य देखिए पनि किट नियन्त्रणको पर्याप्त व्यवस्था नभएको, खाद्य उत्पादन अनुमतिपत्र नलिई तेल उत्पादन तथा बिक्री वितरण गरिएको र लेबल विवरण नलगाइ कच्चा तेल बिक्री गरिएको पाइएको छ।
विभागले उक्त उद्योगलाई तत्काल खाद्य उत्पादन अनुमति लिने प्रक्रिया अघि बढाउन, प्याकेटमा उपभोग्य मिति सहितको लेबल अनिवार्य रूपमा राखेर मात्र तेल बिक्री वितरण गर्न तथा किट नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
त्यस्तै, श्याम बेकरी उद्योगमा गरिएको निरीक्षणमा पनि सरसफाइ सामान्य रहे तापनि किट नियन्त्रणको व्यवस्था कमजोर रहेको, उद्योग परिसरमा खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको र प्रयोग भइसकेको तेल पटक–पटक प्रयोग गरिएको पाइएको विभागले जनाएको छ। यद्यपि, उक्त बेकरीले खाद्य उत्पादन अनुमतिपत्र भने लिएको पाइएको छ।
अनुगमनपछि विभागले प्रयोग भइसकेको तेल पुनः प्रयोग नगर्न, किट नियन्त्रणको उचित व्यवस्था मिलाउन र बेकरीजन्य खाद्य पदार्थमा लेबल विवरण अनिवार्य रूपमा राखेर मात्र भण्डारण तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ।
यसैबिच, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुनसरीले गत पुस १ गते इटहरी उप–महानगरपालिकामा रहेका खाद्य उद्योगमा संयुक्त अनुगमन गरेको छ।
अनुगमनका क्रममा वडा नम्बर ५ स्थित गोर्खा फुड प्रोडक्टले खाद्य अनुमतिपत्र नलिई विगत तीन वर्षदेखि उत्पादन तथा बिक्री वितरण गर्दै आएको, अन्य उद्योगको लेबल प्रयोग गरी आफ्ना उत्पादन बिक्री गरेको र खाद्य स्वच्छता कायम नगरेको पाइएको छ।
सो उद्योगबाट उत्पादित सस, भिनेगर र कागतीको रस गरी १४० कार्टुन उत्पादन संयुक्त अनुगमन टोलीको रोहबरमा उद्योगकै जिम्मामा रहने गरी रोक्का राखिएको छ भने उत्पादन तथा बिक्री वितरण पूर्ण रूपमा बन्द गरिएको छ।
यस्तै, वडा नम्बर ४ स्थित प्रख्यात फुड प्रोडक्टले पनि खाद्य अनुमतिपत्र नलिई विगत दुई वर्षदेखि उत्पादन तथा बिक्री वितरण गरेको, उत्पादन तथा प्रशोधन कक्ष फोहोर र अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।
उक्त उद्योगबाट उत्पादित सस, भिनेगर र कागतीको रस गरी २८६ कार्टुन उत्पादन रोक्का राखी उत्पादन तथा बिक्री वितरण पूर्ण रूपमा बन्द गरिएको छ। साथै, आवश्यक कागजातसहित तोकिएको समयभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस्ता अनुगमनलाई अझ प्रभावकारी बनाइने र खाद्य स्वच्छता तथा गुणस्तर ऐन उल्लङ्घन गर्ने उद्योगमाथि कडाइका साथ कारबाही गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्