काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू अहिले निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्।
बिहीबार काठमाडौँमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक दलहरूले उम्मेदवार सिफारिससमेत गर्न सुरू गरेको जानकारी दिएका हुन्।
उनले भने,“कतिपय राजनीतिक दलहरूले गाउँदेखि शहरसम्म अभियान चलाइरहेका छन्। निर्वाचन आयोगले पनि आफ्नो काम द्रुत गतिमा अगाडि बढाइरहेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि ८ लाखभन्दा बढी नयाँ मतदाताहरू थपिएका छन्, जसले देशमा निर्वाचन महोत्सव बन्ने संकेत दिन्छ। जनता भोट हाल्न आतुर छन्।”
उनले सरकारले सबै स्रोत, साधन र जनशक्ति तयार गरेर निर्वाचन सफल बनाउन लागेको पनि उल्लेख गरे ।
सञ्चारमन्त्री खरेलले वर्तमान सरकार जेन–जी आन्दोलनको म्याण्डेटअनुसार नै काम गरिरहेको दाबी गर्दै गठन भएको तीन महिनाभित्र ३० भन्दा बढी भ्रष्टाचार सम्बन्धी मुद्दाहरू अदालत पुगेका बताए ।
“हामीले राज्यका निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण बनाएका छौँ। यसअघि दबाबका कारण मुद्दा अगाडि बढ्न सक्दैनथ्यो, तर अहिले यी निकाय स्वतन्त्र छन् र भ्रष्टाचार नियन्त्रणसम्बन्धी मुद्दाहरू मज्जाले अगाडि बढिरहेको छ। सुशासनका कामको सुरुवात हामीले गरेका छौँ,”उनले थपे ।
उनले सञ्चारमाध्यमलाई निर्वाचनको वातावरण बनाउन र मतदाता शिक्षामा सहयोग गर्न पनि आग्रह गरे । मन्त्री खरेलले वर्तमान सरकारले निर्वाचन र सुशासन दुवै कामसँगै अगाडि बढिरहेको दाबी गरे।



प्रतिक्रिया दिनुहोस्