काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको स्तर निर्धारण प्रक्रियाबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ।
विभागको आयोजनामा नेपाल पाउरोटी उद्योग संघको सहकार्यमा बबरमहलस्थित विभाग परिसरमा सम्पन्न कार्यक्रममा खाद्य पदार्थको गुणस्तर, स्वच्छता र विशेषगरी ट्रान्स फ्याट नियन्त्रणका विषयमा व्यापक छलफल भएको हो।
विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा नेपाल पाउरोटी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, नेपाल बोटल वाटर उद्योग संघ, खाद्य पदार्थ आयातकर्ता, काठमाडौँका बेकरी उद्योगी व्यवसायी, उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा विभागका कर्मचारीसहित करिब ९० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनकी वरिष्ठ सदस्य डा. सुशिला वैद्यले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरबारे कार्यपत्र प्रस्तुत गरिन्। यस्तै, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का मुख्य प्रावधानहरूबारे जानकारी दिनुभयो भने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले खाद्य जानकारी, खाद्य पदार्थको अनिवार्य गुणस्तर निर्धारण प्रक्रिया तथा ट्रान्स फ्याटसम्बन्धी अनिवार्य मापदण्डबारे कार्यपत्र प्रस्तुत गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अञ्जन श्रेष्ठले बेकरीजन्य खाद्य पदार्थमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरण गर्न आयात बिन्दुदेखि नै कडाइका साथ नियमन आवश्यक रहेको बताए ।उनले नेपालको सन्दर्भसँगै अन्तर्राष्ट्रिय अभ्यासलाई पनि ध्यानमा राखेर नीति तथा नियमन अघि बढाउनुपर्नेमा जोड दिए। ट्रान्स फ्याटको विषय अहिले सार्वजनिक चासोको केन्द्रमा रहेकाले सरकार, विभाग र निजी क्षेत्रबिच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
नेपाल पाउरोटी उद्योग संघका अध्यक्ष कमलराज अधिकारीले ऐन र नियम कार्यान्वयन गर्दा उद्योगीलाई समेत समेटेर अघि बढ्नुपर्ने धारणा राखे। नियम लागू भएपछि त्यसको प्रभावकारिता मापन गर्नुपर्ने र प्रशोधन प्रक्रियामा हुने त्रुटिका कारण समस्या देखिएको भए उद्योगीलाई सुधारको अवसर दिनुपर्ने उनले उल्लेख गरे। उद्योगी व्यवसायीहरू गुणस्तर सुधारमा सधैं सकारात्मक रहेको पनि उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष एवं विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले ट्रान्स फ्याटको स्रोतमा नै नियमन र नियन्त्रण सम्भव रहेको बताइन्। खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने काम विभागले मात्र गर्न नसक्ने भएकाले सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। उनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै हाल बजारबाट फिर्ता (रिकल) गरिएका खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको सम्बन्धित ब्याच नम्बर मात्र फिर्ता गरिएको र सम्पूर्ण उद्योग बन्द नगरिएको स्पष्ट पारिन् ।
छलफलका क्रममा सहभागीहरूले ट्रान्स फ्याट नियन्त्रणमा उद्योगीको भूमिका स्पष्ट रूपमा सरकारबाट निर्दिष्ट हुनुपर्ने, उपभोक्ता जनचेतना अभिवृद्धि र उद्योगी नियमनका काम समानान्तर रूपमा अघि बढाउनुपर्ने तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐनबारे थप जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको सुझाव दिएका थिए।


प्रतिक्रिया दिनुहोस्