काठमाडाैँ । नेपाल र भारतबिच पर्यटन साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आयोजित दोस्रो ‘इण्डिया–नेपाल टुरिजम मिट’ सफलतापूर्वक सम्पन्न भएको छ ।
काठमाडौँस्थित भारतीय राजदुतावास, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा भएको यो कार्यक्रम विशेष गरी उत्तर प्रदेश र गण्डकी प्रदेशबीचको पर्यटन सहकार्य विस्तारमा केन्द्रित थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्यलाई स्वागतयोग्य कदम भएको बताए ।
उनले यो सहकार्यले दुवै देशका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठूलो स्रोत मुलुक रहेको उल्लेख गर्दै धार्मिक, सांस्कृतिक, साहसिक र प्रकृतिमुखी पर्यटनमार्फत दुवै देश लाभान्वित हुने बताए ।
भारतीय राजदुतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटी सुधारले अन्तरदेशीय पर्यटनमा नयाँ गति दिएको भन्दै धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किटको संयुक्त प्रवद्र्धनमा सहकार्य आवश्यक रहेको जोड दिए ।
उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन परिपथहरू र आगामी माघ मेलाको विशेष आकर्षणबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रमको मुख्य आकर्षण बीटुबी सत्रमा भारतबाट १० जना र नेपालबाट ६० जना पर्यटन व्यवसायी तथा टुर अपरेटरहरूको सहभागिता थियो ।
छलफलमा स्थल मार्गबाट हुने पर्यटन, बौद्ध परिपथ, वन्यजन्तु, साहसिक र आध्यात्मिक पर्यटनमा सम्भावित सहकार्यका विषयमा गहन संवाद भएको बताइएको छ ।
यसअघि मंसिर २९ देखि पुस २ गतेसम्म उत्तर प्रदेश प्रतिनिधिमण्डलका लागि पोखरा र आसपासका गन्तव्यहरूको परिचयात्मक भ्रमण (फ्याम ट्रिप) आयोजना गरिएको थियो ।
यो भ्रमणले पर्यटन सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डले यस्ता क्षेत्रीय कार्यक्रमहरूले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्