काठमाडौं । अमेरिकाले केही समयको लागि डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रम स्थगन गर्ने भएको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले ट्रम्प प्रशासनलेडिभी लटरी कार्यक्रम अस्थायी रूपमा रोक्ने निर्णय गरेको घोषणा गरेकी हुन्।
आठ वर्षअघि यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका एक व्यक्तिमाथि ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेको आरोप लागेपछि यस्तो निर्णय गरिएको गृह सुरक्षा सचिव नोएमले जानकारी दिएकी छन् ।
नोएमले सामाजिक सञ्जाल एक्स लेख्दै भनिन्, “यो जघन्य अपराधीलाई कहिल्यै पनि हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैनथ्यो। राष्ट्रपति ट्रम्पको निर्देशनमा म तुरुन्तै डिभी कार्यक्रम रोक्न युएससीआइएसलाई निर्देशन दिँदैछु, ताकि यस्तो विनाशकारी कार्यक्रमका कारण अब कुनै पनि अमेरिकी नागरिकलाई क्षति नहोस्।”
उनका अनुसार संदिग्ध आक्रमणकारी क्लाउडियो म्यानुएल नेभेस भालेन्ते सन् २०१७ मा डाइभर्सिटी भिसा कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए र उनलाई ग्रीन कार्ड जारी गरिएको थियो।
सन् १९९० को दशकमा सुरु गरिएको डाइभर्सिटी भिसा कार्यक्रमले अमेरिकामा आप्रवासन दर कम भएका मुलुकका नागरिकलाई हरेक वर्ष ५० हजार भिसा उपलब्ध गराउँदै आएको छ। यो भिसा लटरी प्रणालीमार्फत छनोट गरिन्छ, जसमा हरेक वर्ष करोडौँ मानिस आवेदन दिन्छन्।
डाइभर्सिटी भिसाका लागि आवेदकले कम्तीमा उच्च माध्यमिक शिक्षा पूरा गरेको वा तालिम आवश्यक पर्ने क्षेत्रमा दुई वर्षको कार्यअनुभव भएको हुनुपर्छ। साथै, भिसा पाउनुअघि सुरक्षा जाँच र अन्तर्वार्ता अनिवार्य हुन्छ।
यो कार्यक्रम अमेरिकी कांग्रेसले स्थापना गरेको भएकाले गृह सुरक्षा सचिवले कुन कानुनी आधारमा कार्यक्रम रोक्न सक्छिन् भन्ने विषय अझै स्पष्ट छैन। लटरीमार्फत जारी हुने अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालयअन्तर्गत पर्छन् भने थोरै मात्र भिसा अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस) ले प्रक्रिया गर्ने गर्छ, जुन गृह सुरक्षा विभागअन्तर्गत पर्दछ।
राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि डाइभर्सिटी भिसा कार्यक्रमका आलोचक रहँदै आएका छन्। उनको तर्क छ कि यो कार्यक्रमले सुरक्षा जोखिम निम्त्याउन सक्छ र रोजगार–आधारित भिसाजस्तो ‘मेरिट–आधारित’ छैन।
आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले न्यूयोर्कमा ट्रक आक्रमणमा आठ जनाको मृत्यु भएपछि यो कार्यक्रम अन्त्य गर्न प्रयास गरेका थिए। तर समर्थकहरूले भने भिसा पाउनेहरू कडाइका साथ जाँचिने र यो कार्यक्रम अमेरिकी अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय छविका लागि सकारात्मक रहेको दाबी गर्दै आएका छन्।
कोभिड–१९ महामारीका आर्थिक असरलाई कारण देखाउँदै ट्रम्प प्रशासनले सन् २०२० मा यो कार्यक्रमसहित कानुनी आप्रवासनका विभिन्न प्रक्रिया रोक्का गरेको थियो। तर पूर्व राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा त्यो नीति उल्ट्याएका थिए।
४८ वर्षीय नेभेस भालेन्ते पोर्चुगलका नागरिक हुन् र उनको अन्तिम बसोबास मियामीमा रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीका अनुसार उनी सन् २००० मा ब्राउन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि विद्यार्थी भिसामा अमेरिका आएका थिए। तर केही महिनापछि पढाइ छोडेका थिए।
अधिकारीहरूले बिहीबार राति न्यु ह्याम्पसायरको एक भण्डारण कक्षमा नेभेस भालेन्तेको शव फेला परेको र उनले आत्महत्या गरेको आशंका गरिएको बताएका छन्।
ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु र नौ जना घाइते भएपछि सुरु भएको अनुसन्धान यससँगै अन्त्य भएको जनाइएको छ। उनी दुई दिनपछि बोस्टन नजिकै एमआईटीका एक प्राध्यापकको हत्या घटनामा पनि संलग्न रहेको आशंका गरिएको छ।



प्रतिक्रिया दिनुहोस्