कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह


काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूकाे मान मर्दन गरेको आरोप लगाएका छन् ।

बागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले जेनजी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमा निर्मम प्रहार गरिरहेको बताए । उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरूमाथि प्रहार गरिरहेकाे बताए ।

मन्त्री घिसिङको कदमले व्यवसायीहरू हतोत्साहीत भएको बताए । मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाइरहेको आरोप लगाए । असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा पाउन नसकेको बताए ।

अध्यक्ष सिंहले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको र अन्तरिम सरकारले पनि त्यही क्रमले निरन्तरता पाएको दाबी गरे । मन्त्री घिसिङ सरकारी संयन्त्रको प्रयोग गरेर पार्टीको प्रचारमा लागिरहेको आरोप लगाए ।