काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री–वितरण हुँदै आएको ‘पिरो कागती क्यान्डी’ तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ।
विभागका अनुसार ‘पिरो कागती क्यान्डी (१०० ग्राम)’ नामको खाद्य पदार्थमा खाद्य रङ्गकाे मात्रा मापदण्डभन्दा बढी भेटिएको हो। सो क्यान्डीको व्याच नम्बर ०७ रहेको छ भने उत्पादन मिति अगस्ट २०२५ र उपभोग्य मिति उत्पादन मितिबाट ६ महिना भित्र रहेको उल्लेख छ। उक्त उत्पादन श्री एलिजा ईजी ट्रेड लिंक, तुसाल, चाबहिल–०७, काठमाडौँले उत्पादन गरेको हो।
विभागले जारी गरेको आदेशअनुसार नियमित बजार अनुगमनका क्रममा सङ्ककलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण गर्दा तोकिएको सीमा भन्दा बढी खाद्य रङ्ग (खाद्य योगशील) प्रयोग भएको पाइएपछि उक्त उत्पादन न्यूनस्तरको ठहर गरिएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम यस्तो निर्णय गरिएको विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार उक्त व्याच नम्बरका सबै खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न र दफा ३८(४) बमोजिम बिक्री तथा वितरण नगर्न/नगराउन विभागले निर्देशन दिएको छ। विभागीय निर्णयअनुसार जारी गरिएको यस आदेशको पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै न्यूनस्तरका खाद्य पदार्थविरुद्ध कडाइका साथ अनुगमन र कारबाही जारी रहने बताइन् ।



प्रतिक्रिया दिनुहोस्