काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्ने बताए ।
परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने कुरा प्रमुख रहेको उनकाे भनाइ छ । अहिले संविधान ट्रयाक भन्दा बाहिर गएको उल्लेख गर्नुहुँदै समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।
हरेक पाँच वर्षमा निर्वाचन हुनुपर्ने कुरा २०१५ सालदेखि नै हुनुपर्ने भएपनि हुन नसकेको बताए । संवैधानिक राजतन्त्रले कुनै फरक नपर्ने उनको भनाइ छ ।
महामन्त्री थापाले भने, “आज एउटा ठूलो अनिश्चय छ । चुनाव हुन्छ की हुँदैन ? होला की नहोला । भुनाव भएन भने के होला ? चुनाव हुँदै गर्दा शान्तिपूर्ण हुन्छ की हुँदैन । एउटा पाटो हो । फागुन २१ गते चुनाव गर्नेकुरा अनिवार्य छ । चुनावको परिणाम के होला ? हाम्रो लागि कति अनुकुल होला ? कति प्रतिकुल होला ? त्यो हाम्रो आन्तरिक विषय हो । हामी छलफल गरौँला, त्यसलाई अनुकुल बनाउने कोशिस गरौँला । थप मेहनत गरौँला । तर फागुन २१ गते चुनाव हुने कुरा किन महत्वपूर्ण छ भने संविधान ट्रयाक भन्दा बाहिर गएको छ, लिक भन्दा बाहिर गएको छ । संविधानलाई लिकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने, निर्वाचनले नयाँ संसद ल्याउँछ, नयाँ संसदले विस्तारै यसलाई आफ्नो काम गर्ने हो । नेपालमा चुकेको कुरा भनेको २०१५ सालमा पाल्र्यामेण्ट आयो, ५ सालमा निरन्तर निर्वाचन भएको भए नेपाल आज अर्कै ठाउँमा हुन्थ्यो, संवैधानिक राजतन्त्र हुन्थ्यो, केही फरक पर्दैन थियो नि त । अब चुनाव भएन भने हामी एउटा ठूलो अनिश्चयमा जानसक्छौँ ।”
महामन्त्री थापाले समयमै निर्वाचन नभए नेपाल ठूलो अनिश्चयमा जानसक्ने जिकिर गरे । –न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस्