काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीउ–बिजन र विभिन्न बालीजन्य कृषि उपजको नयाँ बिक्रीमूल्य तोकेको छ।
गत मंसिर २८ मा भएको मन्त्रीस्तरीय निर्णयअनुसार स्वीकृत उक्त मूल्यसूची लागू भएसँगै धान, गहुँ, मकै, दलहन तथा तेलहन बालीका बीउहरू अब नयाँ दरमा बिक्री हुने भएका छन्।
निर्णयअनुसार बास्नादार धानको मूल बीउ प्रतिकेजी १०५ रुपैयाँ र प्रमाणित बीउ १०० रुपैयाँ निर्धारण गरिएको छ।
मसिनो धानको मूल बीउ ७५ रुपैयाँ र प्रमाणित बीउ ७० रुपैयाँ तोकिएको छ भने मध्यम तथा मोटा धानको मूल बीउ ७१ रुपैयाँ र प्रमाणित बीउ ६५ रुपैयाँ प्रतिकेजी कायम गरिएको छ।
हाइब्रिड धानको उन्नत बीउको मूल्य भने प्रतिकेजी २०० रुपैयाँ निर्धारण गरिएको छ।
गहुँतर्फ मूल बीउको मूल्य प्रतिकेजी ८० रुपैयाँ र प्रमाणित बीउ ७५ रुपैयाँ तोकिएको छ।
खुला सेचित मकैको मूल बीउ ११० रुपैयाँ र प्रमाणित बीउ ६५ रुपैयाँ कायम गरिएको छ भने हाइब्रिड मकैको उन्नत बीउ प्रतिकेजी ३०० रुपैयाँमा बिक्री हुने भएको छ।
दलहन बालीतर्फ मसुरोको मूल बीउ १६० रुपैयाँ र प्रमाणित बीउ १४० रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी तोरीको मूल बीउ १७० रुपैयाँ र प्रमाणित बीउ १५० रुपैयाँ प्रतिकेजी तोकिएको छ। ढैचा बीउको मूल्य प्रतिकेजी १२० रुपैयाँ कायम गरिएको छ।
बीउका लागि अयोग्य खाद्यान्नको हकमा पनि मन्त्रालयले मूल्य निर्धारण गरेको छ। गहुँको मूल्य प्रतिकेजी ३८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने मोटा धान ३४ रुपैयाँ ६३ पैसा, मध्यम तथा मसिनो धान ३६ रुपैयाँ २८ पैसा प्रतिकेजी कायम गरिएको छ।
मकै प्रतिकेजी ३५ रुपैयाँमा बिक्री हुने भएको छ भने मसुरो ९० रुपैयाँ र तोरी ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ।
बीउ प्रशोधनका क्रममा निस्किने कम तौल भएको मिसमास धानको मूल्य ३० रुपैयाँ, टुक्रिएको धान १८ रुपैयाँ र टुक्रिएको गहुँ २० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ। मुंग खाद्यान्नको मूल्य भने प्रतिकेजी ९० रुपैयाँ कायम गरिएको छ।
मन्त्रालयले नयाँ मूल्यसूचीले बीउ–बिजनको उत्पादन, प्रशोधन तथा बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा गरेको छ। किसान, सहकारी तथा बीउ उत्पादक संस्थाहरूका लागि यसले लागत, मूल्य र कारोबारमा स्पष्टता ल्याउने विश्वास गरिएको छ।



प्रतिक्रिया दिनुहोस्