एमसीए नेपालअन्तर्गत धानखोला–लमही र नारायणघाट–मुग्लिन सडक मर्मतका दुई ठूला आयोजनामा सम्झौता


काठमाडाैँ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल अन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ । 

सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन  तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ । साथै, सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको छ ।

सडक मर्मत आयोजनाअन्तर्गत सम्पन्न हुने यी परियोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि तथा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला लमहीको ४० किमि क्षेत्रमा फुल डेप्थ रेक्लेमेसन टेक्नोलोजिबाट मर्मत गरिने जानकारी दिए ।

उनकाअनुसार त्यो निर्माणलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का समेत गरिएको छ, त्यससम्बन्धि सम्झौता आदानप्रदान पनि गरिएको छ । यो सम्झौता २ वर्षको हो । २४ महिनामा सबै काम सकिनुपर्छ । २४ महिनाभित्र धान खोला–लमही क्षेत्रको पूरै मर्मत कार्य सक्ने र मुग्लिन नारायणघाटको नयाँ प्रविधिअनुसार डिजाइन गरिनेछ । बाँकी काम गर्न फेरि अर्को कन्ट्याक्टरबाट हुने खड्काले बताए ।

विष्टकाअनुसार धानखोला लमहीको मर्मतका लागि २ करोड अमेरिकी डलर अर्थात करिव ३ अर्ब लागत लाग्नेछ । त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्काका ३७ लाख अमेरिकी डलर अर्थात ५० करोड खर्च हुने अनुमान छ ।   

विष्टले ५ वर्षको निर्धारित समयभित्रै परियोजना सक्नेगरी कामहरु अघि बढेको समेत बताए । उनकाअनुसार २ वर्ष ४ महीना बितिसकेकाले बाँकी अवधीमा परियोजनाहरु सकिनेछ । एमसीए नेपालले समयमै परियोजनाहरु सकिने बताएपनि आयोजनाहरुको प्रगति हेर्दा निर्धारित अवधिमै सकिनेमा संशय कायमै छ ।