सञ्चालनमा नरहेका विद्यालयलाई १५ दिनभित्र सम्पर्कमा आउन काठमाडौँ महानगरको निर्देशन


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अघि बढाउने तयारी गरेको छ। महानगरपालिकाको शिक्षा विभागले स्थलगत रूपमा सञ्चालनमा नदेखिएका विद्यालयहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको हो।

नगर शिक्षा समितिको मिति २०८२ साल साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर सञ्चालनमा आएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि शिक्षा विभागले अनुगमन, रुजु तथा एकिन गर्ने निर्णय गरिएको छ।

सोही निर्णयका आधारमा शिक्षा विभागले विभिन्न समयमा गरेको स्थलगत अनुगमनका क्रममा केही विद्यालयहरू सञ्चालनमा नरहेको प्रतिवेदन प्राप्त भएको जनाएको छ।

शिक्षा विभागका अनुसार महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित सूचीमा उल्लेख भएका विद्यालयहरू यदि वास्तवमै सञ्चालनमा रहेका भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कमलादीस्थित काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्नुपर्नेछ।

तोकिने समयभित्र सम्पर्कमा नआएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३ (ट) बमोजिम ती विद्यालयहरू बन्दका लागि नगर कार्यपालिकामा सिफारिस गरिने शिक्षा विभागले स्पष्ट पारेको छ। विभागले सम्बन्धित सबै सरोकारवालालाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रहसमेत गरेको छ।

https://share.google/jXE9eyPWeEEHxWpcA