दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरूकाे जोड


काठमाडाैँ । दिगो हिमाली पर्यटनका लागि पूर्वयोजना, ट्रेकिङ ट्रायल, क्याम्प व्यवस्थापन, पर्यटकसँग गर्नुपर्ने शिष्टाचारयुक्त व्यवहारदेखि फोहोर व्यवस्थापनसम्मका विषयमा छुट्टै मापदण्ड बनाएर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत काठमाडौँमा जारी तालिममा दिगो पर्यटनसम्बन्धी सीप र व्यवस्थापनका विषयमा विस्तृत छलफल भइरहेको छ।

पर्यटन क्षेत्रमा सक्रिय संस्था काठमाडौं इन्भायरोमेन्टल एजुकेशन प्रोजेक्ट (किप्ट) को समन्वयमा भइरहेको तालिममा हिमाली क्षेत्रमा पर्यटक लैजाँदा, उनीहरूलाई गाइड गर्दा वा आफैं सानो समूहमा ट्रेकिङमा जाँदा कसरी न्यून वातावरणीय क्षतिसहित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिइएको छ।

तालिममा हिमाली क्षेत्रमा कार्यरत ८० जनाभन्दा बढी गाइड तथा भरियालाई जिम्मेवार र दिगो पर्यटनका उपायबारे सीप प्रदान गरिएको छ। ट्रेकिङमा जानुअघि नै वातावरणमैत्री सामग्रीको छनोट र तयारी, ट्रेकिङका क्रममा बाटोमा हिँड्ने सही तरिका, वरपरका झारपात र झ्याउमा न्यून क्षति पुर्‍याउने अभ्यास, बास बस्दा अपनाउनुपर्ने क्याम्प मापदण्डलगायतका विषयमा जानकारी दिइएको किप्टका प्रबन्धक तारानन्द जोशीले जानकारी दिए।

जोशीका अनुसार हाल हिमाली क्षेत्रको पर्यटनमा फोहोर व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ। त्यससँगै पाहुनाप्रति अपेक्षित शिष्टाचार नहुनु, जथाभावी ट्रेकिङका कारण वन्यजन्तु र प्राकृतिक प्रणालीमा असर पर्नुजस्ता समस्या देखिएका छन्। यस्ता समस्याको न्यूनीकरणका लागि पर्यटन व्यवसायी स्वयं सचेत हुनुपर्ने भएकाले दिगो पर्यटनबारे गहिरो छलफल र व्यवहारिक सीप आवश्यक रहेको उनको भनाइ छ ।

“पर्यटनमा जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो मूल अवधारणा हो। ट्रेकिङमा जाँदा हाम्रो प्रभाव न्यून होस् भन्ने सोच आवश्यक छ। हामी जहाँ जान्छौं, त्यहाँ जानुअघि नै फोहोर व्यवस्थापन कसरी गर्ने, प्रकृति र पर्यावरणमा नकारात्मक असर नपरोस् भन्ने विषयमा योजना बनाउनुपर्छ। यो प्रकृति सबैको साझा सम्पत्ति हो, यसलाई भावी पुस्ताका लागि जस्ताको तस्तै छोड्न सक्नुपर्छ। यही सन्देश फैलाउन पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई तालिममा सहभागी गराएका हौं,”उनले भने ।

चार दिनसम्म सञ्चालन हुने तालिममा पर्यटन व्यवसायीका लागि आवश्यक प्राथमिक उपचारदेखि दिगो पर्यटनसम्बन्धी व्यावहारिक सीपसम्म सिकाइनेछ। साथै पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरूसँग अन्तरक्रिया, उनीहरूको अनुभव सुनुवाइ र दिगो, भरपर्दो तथा जिम्मेवार पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य पनि रहेको जोशीले बताए ।

तालिममा हिमाली क्षेत्रको पर्यटन व्यवसायमा संलग्न करिब ३०० जना सहभागी हुनेछन्। ट्रेकिङ तथा ट्राभल व्यवसायी, गाइड, भरिया तथा समग्र पर्यटन क्षेत्रमा कार्यरत व्यक्तिलाई नौ वटा मापदण्डबारे जानकारी दिइएको छ। तालिमले आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने सोलुखुम्बुका पर्यटन व्यवसायी मिङमार छिरिङ शेर्पाले बताए ।

डिसेम्बर १७ देखि २४ सम्म विभिन्न दिनमा सञ्चालन भइरहेको यो तालिम दिगो हिमाली पर्यटन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।