काठमाडाैँ । गत भाद्र २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले अनुसन्धानको दायरामा रहेका तीन पूर्व उच्च अधिकारीको विदेश भ्रमण तथा काठमाडौँ उपत्यका बाहिर जान लगाइएको रोक्का फुकुवा गरेको छ।
आयोगले पूर्व गृह सचिव गोकर्णमणी दुबाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौँ जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको हो। आयोगको सचिवालयका अनुसार आज बसेको बैठकले यससम्बन्धी निर्णय गरेको छ।
यसअघि आयोगले भाद्र २३ र २४ का घटनाको अनुसन्धानका क्रममा ती तीनै जनालाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गरेको थियो। उक्त निर्णय गत भदौ १२ र असोज २७ का बैठकबाट गरिएको थियो। आयोगका अनुसार पूर्व निर्णयअनुसार आवश्यक कार्य सम्पन्न भइसकेकाले अब उनीहरूको विदेश भ्रमण तथा उपत्यका बाहिर आवतजावतमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको हो।
आयोगले सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयलाई औपचारिक रूपमा जानकारी गराएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई समेत बोधार्थ पठाइएको छ।



प्रतिक्रिया दिनुहोस्