‘मर्जर भएका भन्दा नभएका संस्थाहरूको कार्यसम्पादन राम्रो छ’


काठमाडौँ । मर्जर भएका भन्दा नभएका अधिकांश संस्थाहरूको समग्र कार्यसम्पादन राम्रो देखिएको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले २ वर्षभित्र पुँजी वृद्धि गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई अनपेक्षित निर्देशन दिएपछि हतारिएर पार्टनर खोज्नु परेको जनाएको छ ।

राष्ट्र बैंकले २०७२ साउन २१ गते पत्रिपत्र जारी गर्दै २०७४ असारमा वाणिज्य बैंकहरूले चुक्ता पुँजी २ अर्बबाट बढाएर ८ अर्ब रूपैयाँ, राष्ट्रियस्तरका विकास बैंकले ६४ करोड रूपैयाँबाट ५० करोड रूपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीले ३० करोडबाट ८० करोड रूपैयाँ बनाउनुपर्ने जनाएको थियो । राष्ट्र बैंकले चुक्ता पुँजी क्रमश ३०० प्रतिशत, २९० प्रतिशत र १७७ प्रतिशत बढाउन निर्देशन दिएको थियो ।

उच्च पुँजीवृद्धिको नीति आएपछि बैंक तथा वित्तीय संस्थाहरूले मर्जर तथा एक्विजिसनका लागि हतारिएर पार्टनर खोज्नु पर्ने स्थिती आएको थियो ।

मर्जर तथा एक्विजिसनमा सञ्चालन, सफ्टवेयर, प्रडक्ट आदिको एकीकरणको अलावा मानव संसाधन (सञ्चालक समितिदेखि तल्लो तहसम्मको) को संयोजन गर्नुपर्ने हुनाले हतारिएर नभई सतर्कतासाथ गर्नुपर्ने विषय रहेको जनाएको छ । संस्थाहरूले प्रशस्त समय लिएर मर्जरको निर्णय गर्न सुझाव दिइएको छ ।

यी सबै पक्षमा ध्यान दिने संस्थाहरू तुलनात्मक रूपमा सफल भएको जनाएको छ । हाल मर्जर भएका भन्दा नभएका अधिकांश संस्थाहरूको समग्र कार्यसम्पादन राम्रो देखिएको उल्लेख गरिएको छ ।

सञ्चालक समितिको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नयाँ व्यक्ति चयन गर्दा मर्जरपछि पनि राम्रो हुन सक्ने देखिएकाले संस्थाहरूलाई सो बारेमा अध्ययन गर्न सुझाव दिनुपर्ने जनाएको छ ।

मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धित संस्थाहरूले नै स्वाप रेसियो लगायत सम्पूर्ण प्रक्रियाको बारेमा प्रचलित कानुनअनुसार निर्णय गर्न सक्ने अधिकार प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।