त्रिशुली नदीमा रिभर गाइड उत्पादनका लागि प्रयोगात्मक तालिम, ७० युवा सहभागी


काठमाडौँ । पर्यटन प्रवद्र्धन र साहसिक पर्यटनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित त्रिशुली नदीमा युवालाई लक्षित गरी रिभर गाइड (र्‍याफ्टिङ) को प्रयोगात्मक तालिम सञ्चालन गरिएको छ।

नेपाल पर्यटन बोर्ड, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम र दिगो पर्यटन परियोजनाको सहकार्यमा उक्त )तालिम आयोजना गरिएको हो।

नाथमका प्रधानाध्यापक अजयकुमार ढकालले रिभर गाइड नेपालको पर्यटन क्षेत्रमा अत्यावश्यक विशेष मानवीय स्रोत भएको उल्लेख गरे ।उनका अनुसार हाल ७० जनालाई तालिम दिन लागिएको हो।

नाथमले हालसम्म एक हजार दुई सय ३८ जना रिभर गाइड उत्पादन गरिसकेको जानकारी दिँदै उनले तालिम प्राप्त व्यक्तिहरूले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत रोजगारीको अवसर पाउन सक्ने बताए ।

नाथमका प्रशासन विभाग प्रमुख ज्ञानराज पण्डितले सैद्धान्तिक कक्षा नाथममै सञ्चालन गरी प्रयोगात्मक परीक्षा त्रिशुली नदीमा लिइएको जानकारी दिनुभयो। प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीले आधिकारिक लाइसेन्स प्राप्त गर्ने उनको भनाइ छ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का उपाध्यक्ष शुक्र लामाले रिभर गाइड जति उत्पादन गरे पनि अभाव कायमै रहेको बताए। विभिन्न देशबाट रिभर गाइडको माग आउने भएकाले नेपाली गाइडहरू विदेशमा गएर काम गरिरहेको उल्लेख गर्दै उनले हाल माग पूर्ति गर्नसमेत कठिनाइ भइरहेको बताए । नेपालमै पनि रिभर गाइडको कमी रहेको उल्लेख गर्दै उनले वर्षमा कम्तीमा दुई पटक तालिम सञ्चालन गर्न सके अझ प्रभावकारी हुने धारणा राखे ।

हिमालयन रिभर राइड एसोसिएसन नेपालका पूर्वअध्यक्ष मानध्वज गुरुङले र्‍याफ्टिङलाई साहसिक खेलको रूपमा चिनाउँदै जोखिममा रमाउन आउने पर्यटकको सुरक्षाका लागि व्यवस्थित तालिम आवश्यक रहेको बताए ।

खोलामा पर्यटकको सुरक्षा, उद्धार र आकस्मिक अवस्थाको व्यवस्थापनबारे गाइडलाई तालिम दिइएको उनको भनाइ छ। हाल सञ्चालनमा रहेको तालिम लाइसेन्सका लागि मात्र भएको उल्लेख गर्दै उहाँले लाइसेन्स तालिमअघि रेस्क्यु, फस्ट एड र सिपिआरजस्ता तालिम छुट्टै हुने जानकारी दिए।

पछिल्लो समय ¥याफ्टिङ गाइडको माग बढेसँगै तालिम लिन आउनेको संख्या पनि बढेको उहाँले बताउनुभयो। यद्यपि, जलविद्युत आयोजना निर्माणका क्रममा ड्याम बन्न थालेपछि ठूला नदीमा र्‍याफ्टिङ सञ्चालन गर्न समस्या आएको उहाँको गुनासो छ।

तालिममा सहभागी तनहुँको आँबुखैरेनीका प्रशिक्षार्थी रविन गुरुङले र्‍याफ्टिङ लाइसेन्स प्राप्त गर्ने उद्देश्यले तालिम लिन आएको बताउनुभयो। सन् २०२० देखि र्‍याफ्टिङ सिक्दै आए पनि लाइसेन्सका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तालिममा सहभागी भएको उनको भनाइ छ। चितवनका सन्तबहादुर घर्तीले स्थानीयस्तरमा र्‍याफ्टिङ गराइरहे पनि त्रिशुली नदीमा तालिम लिँदा थप अनुभव हासिल गरेको बताए ।

काठमाडौँका रविन थापाले प्रयोगात्मक तालिमले साना र ठूला नदीमा र्‍याफ्टिङ गर्दा आउने फरकबारे राम्रो ज्ञान दिएको बताए । दुर्घटनाबाट बच्न डोरी प्रयोग गर्ने सीप सिक्न पाएको उनले उल्लेख गरे। तालिममा सहभागी दीपेश नेपालले साहसिक पर्यटनप्रतिको रुचिका कारण तालिम लिएको बताउँदै आफूले र्‍याफ्टिङ कम्पनीसमेत सञ्चालन गरिरहेको जानकारी दिए ।

उनका अनुसार तालिममा टी(रेस्क्यु, थ्रो ब्याग रेस्क्यु, कायक रेस्क्युलगायतका विषयमा व्यवहारिक ज्ञान दिइएको छ।
प्रशिक्षार्थी रमेश सुनुवारले र्‍याफ्टिङ गाइडको पेशालाई निरन्तरता दिने र आगामी पुस्तालाई समेत तालिम दिने उद्देश्यले सहभागिता जनाएको बताए । अवसर पाए यही पेशामा विदेश जाने सोच रहेको उनको भनाइ छ। अर्पणा पाण्डेले सानैदेखि साहसिक गतिविधिमा रुचि भएकाले तालिममा सहभागी भएको बताउँदै दुई वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।

तालिममा सहभागीलाई डोरी ड्रेसिङ, स्वीङ, बोर्ड फ्लिप, रिभर क्रसिङ, पर्यटक उद्धार, नदीको अवस्थाबारे जानकारी, सुरक्षा सचेतना, दुर्घटनापछिको उद्धार र प्राथमिक उपचारसम्बन्धी व्यवहारिक तालिम दिइएको छ। १५ दिने उक्त तालिम बिहीवारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।