काँग्रेसमा महाधिवेशन कार्यतालिका संशोधनको माग


काठमाडाैँ नेपाली काँग्रेसमा १५ औँ महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग उठेको छ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यहरूले महाधिवेशनको तयारीलाई व्यावहारिक ढंगले अघि बढाउनुपर्ने जोड दिएका हुन्।

पार्टी प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताको सम्बन्धमा ब्रिफिङ दिएका थिए । थापाले वडास्तरीय र क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रिय महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको थियो। उहाँका अनुसार क्रियाशील सदस्यताको काम समयमै सम्पन्न गर्न कठिन हुने भएपछि यस्तो प्रस्ताव आएको हो।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको सूची तयार गर्ने र निर्वाचनसम्बन्धी कार्य अगाडि बढाउने विषयमा छलफल गरेका थिए । साथै, अनुशासन समितिका संयोजकले समितिले गरेको कारबाही र समितिमा परेको निवेदनबारे जानकारी दिएका थिए ।

बैठकपछि महतले भोलि (बिहीवार) दिउँसो १ बजे फेरि कार्यसम्पादन समितिको बैठक बस्नेछ र महाधिवेशनको कार्यतालिका, समानुपातिक उम्मेदवार र राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल अगाडि बढाइने जानकारी दिए ।