मूल्य तथ्याङ्क प्रशोधन गर्ने जिम्मा राष्ट्रिय तथ्याङ्क कार्यालयलाई हस्तान्तरण गर्न सुझाव


काठमाडौँ । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले मूल्य तथ्याङ्क प्रशोधन गर्ने जिम्मा राष्ट्रिय तथ्याङ्क कार्यालयलाई हस्तान्तरण गर्न सुझाव दिएको छ ।

मूल्य स्थाायित्व कायम गर्ने जिम्मेवारी लिएको नेपाल राष्ट्र बैंकले मूल्य स्तरको समेत सूचकाङ्क निकाल्नु सैद्धान्तिक हिसाबले उपयुक्त नभए पनि राष्ट्र बैँकले २०३०/३१ सालदेखि नै उपभोक्ता मूल्य सूचकाङ्क(सिपिआई) तयार गरी प्रशोधन गरिरहेको छ ।

यस विषयमा विरोध हुँदै आएको छ । प्रतिवेदनमा संसदमा समेत बारम्बार विरोध हुने गरेको साथै यस्तोमा प्रायः देशहरूले छुट्टै निकायबाट गर्ने गरेको स्मरण गराईएको छ ।

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ को प्रतिवेदनले, ‘त्रैमासिक जिडिपी तथ्याङ्कसमेत प्रकाशन गर्ने क्षमता राष्ट्रिय तथ्याङ्क कार्यालयले विकास गरिसकेको परिप्रेक्ष्यमा यस्तो तथ्याङ्क प्रशोधनको जिम्मा राष्ट्रिय तथ्याङ्क कार्यालयलाई हस्तान्तरण गर्नु उपयुक्त र सामयिक हुने’ उल्लेख गरेको छ ।

राष्ट्र बैंकले निकाल्ने उपभोक्ता मूल्य सूचकाङ्क(सिपिआई) र बजारबिच समान्य तालमेल समेत नभएको भन्दै सार्वजनिक रूपमा समेत आलोचना हुने गरेको छ ।