काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सञ्चालक सदस्य देवकुमार श्रेष्ठलाई लागू कानुनी मापदण्डअनुसार स्वतः पदमुक्त गर्न माग गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा औपचारिक निवेदन दर्ता गरिएको छ।
निवेदक लक्ष्मी तिम्सीनाले गत पुस ७ गते प्राधिकरणका प्रमुखलाई सम्बोधन गर्दै दिएको निवेदनमा देवकुमार श्रेष्ठ गत मंसिर २९ गते कालोसूचीमा समावेश भइसकेको तथ्य सार्वजनिक अभिलेखबाट पुष्टि भएको उल्लेख गरिएको छ।
निवेदनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गत जेठ ९ गते जारी गरेको ‘सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापनसम्बन्धी मापदण्ड’ को परिच्छेद ७ अन्तर्गत दफा १.७ अनुसार कुनै पनि सञ्चालक कालोसूचीमा परेमा स्वतः पदमुक्त हुने स्पष्ट कानुनी व्यवस्था रहेको जनाइएको छ।
उक्त मापदण्ड स्वयम् कार्यान्वयन हुने प्रकृतिको (सेल्फ–एक्जिक्युटिङ) भएकाले श्रेष्ठ नेफ्स्कुनको सञ्चालक सदस्यको हैसियतमा कायम रहन कानुनी रूपमा अयोग्य भइसकेको निवेदनमा दाबी गरिएको छ। त्यसैले उनलाई तत्काल पदमुक्त गरिएको अभिलेख कायम गर्न तथा नेफ्स्कुनको आधिकारिक वेबसाइटसहित सार्वजनिक माध्यमबाट उनको नाम, विवरण र फोटो हटाउन माग गरिएको छ।



प्रतिक्रिया दिनुहोस्