१३ सूत्रीय मागमा १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलनमा जाने महासचिव चन्दको चेतावनी


काठमाडाैँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीले अघि सारेका १३ सूत्रीय मागहरूबारे १० दिनभित्र गम्भीर छलफल नभए परिवर्तनकारी आन्दोलनमा जाने चेतावनी दिएका छ्न् ।

बिहीवारदेखि सुरू भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

महासचिव चन्दले मुलुकलाई वर्तमान सङ्कटबाट अग्रगामी निकासतर्फ लैजान सर्वपक्षीय सरकार आवश्यक रहेको बताए । उनका अनुसार आजको नेपालको उपयुक्त ढाँचा समाजवादी संघीयता हो र त्यसका लागि अग्राधिकारसहितको संघीय संरचना निर्माण हुनुपर्छ। सबै नागरिकले अपनत्व महसुस गर्ने गरी राज्यका सबै अंगको पुनःसंरचना अपरिहार्य रहेको उनको भनाइ छ।

उनले अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिइएमा आन्दोलनकारी शक्ति, जनता तथा सबै राजनीतिक पक्षलाई चित्त बुझ्ने गरी देशलाई निकासतर्फ लैजान पहल गर्ने स्पष्ट पारे।

राजनीतिक शक्तिहरूबिच सहमतिका आधारमा उपयुक्त निकास खोज्नुपर्नेमा जोड दिँदै उनले अहिलेसम्म अपूरा रहेका कानुनी, राजनीतिक र प्रशासनिक क्षेत्रका समस्या समाधान गरेर देशलाई निर्वाचनतर्फ लैजानुपर्ने बताए ।

महासचिव चन्दले हालको सरकारलाई समेत छलफलको दायरामा ल्याएर निकास खोजिनुपर्ने धारणा राखे । जनताका अधिकार अधुरा रहेको र संविधान पनि अझै अपूर्ण रहेको उल्लेख गर्दै ती विषयलाई सम्बोधन गर्न आफूहरू निरन्तर आवाज उठाउँदै आएको उनले बताए । पार्टीले राष्ट्रपति समक्ष १३ सूत्रीय माग पेश गरिसकेको र प्रधानमन्त्रीसँग पनि भेट गरेर मागपत्र बुझाइने जानकारी दिए ।

उनले १० दिनसम्म पनि मागपत्रमाथि छलफल नभए र आवाज नसुनिए नेपाली जनताको साथमा, जेन–जीसहितका अग्रगामी राजनीतिक शक्तिहरूको सहभागिता र सहयोगमा परिवर्तनकारी आन्दोलनमा जाने चेतावनी दिए ।

महासचिव चन्दले नेपाली राजनीति र कम्युनिस्ट आन्दोलन भूराजनीतिक प्रभावको चपेटामा परेको टिप्पणी गर्दै यसप्रति गम्भीर समीक्षा आवश्यक रहेको समेत उल्लेख गरे ।