विपद् जोखिम न्यूनिकरणका लागि पूर्वानुमानमा आधारित प्रतिकार्य कार्यढाँचा तयार हुँदै


काठमाडाैँ । विपद् व्यवस्थापनका विज्ञहरूले नेपालमा पूर्वानुमानमा आधारित प्रतिकार्य अर्थात् ‘एन्टिसिपेटरी एक्सन’लाई अब नीतिगत बहसमा सीमित नराखी व्यवहारमा मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरिरहेको ‘पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्यढाँचा’को मस्यौदामाथि भएको छलफलमा विज्ञहरूले विपद् आएपछि मात्र राहत र उद्धारमा केन्द्रित परम्परागत प्रतिक्रियात्मक शैलीभन्दा विपद् आउनुअघि नै तयारी गर्ने अभ्यास प्रभावकारी र कम खर्चिलो हुने निष्कर्ष निकालेका हुन्।

विज्ञहरूका अनुसार मौसम पूर्वानुमान, जोखिमका तथ्याङ्क र सम्भावित क्षतिको विश्लेषणका आधारमा अग्रिम तयारी गर्न सकिए जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिन्छ। यसअन्तर्गत जोखिमको पूर्वानुमान गरी समुदायलाई अग्रिम नगद सहायता, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न भण्डारण, स्वास्थ्य सामग्रीको जोहो लगायतका काम गरिन्छ, जसले विपद्को प्रभाव न्यून गर्छ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्टार्ट नेटवर्कका कन्ट्री म्यानेजर सिसल अधिकारीले एन्टिसिपेटरी एक्शनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।उनका अनुसार स्टार्ट नेटवर्कले ‘स्टार्ट रेडी’ कार्यक्रममार्फत कन्काई, वागमती र पश्चिम राप्ती नदी क्षेत्रमा बाढीको पूर्वतयारी र सक्रिय प्रतिकार्य अभ्यास गरिरहेको छ।

करिब ३० प्रतिशत परियोजना एन्टिसिपेटरी एक्शन र बहुविपद् व्यवस्थापनमा केन्द्रित रहेको उल्लेख गर्दै उनले विपद्बाट हुने क्षति घटाउन यस क्षेत्रमा लगानी र अनुभव आदान–प्रदान आवश्यक रहेको बताए ।

विपद् व्यवस्थापन विज्ञ वंशीकुमार आचार्यले नेपालका विद्यमान कानून एन्टिसिपेटरी एक्शनका लागि बाधक नभई अझै पूर्णरूपमा विकसित हुन नसकेको टिप्पणी गरे।

उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनका विभिन्न प्रावधानले केन्द्रिय कार्यकारी समितिलाई पर्याप्त अधिकार दिएको उल्लेख गर्दै पाइलटिङका रूपमा भइरहेका अभ्यासलाई अब संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याए। स्पष्ट कार्यविधि, फ्रेमवर्क र रोडम्याप बनाएर अघि बढे मात्र यसलाई मूलधारमा ल्याउन सकिने उनको भनाइ छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक उपसचिव राजेन्द्र शर्माले पूर्वसूचनामा आधारित पूर्वकार्यको राष्ट्रिय फ्रेमवर्क तयार गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिए । उनका अनुसार विपद् हुनुअघि नै तयारी गर्दा मानवीय तथा आर्थिक स्रोतको बचत हुन्छ र पछि गर्नुपर्ने प्रतिकार्यमा लाग्ने खर्च तथा जनशक्ति घट्छ।

गृह मन्त्रालयअन्तर्गत विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पूर्वानुमान शाखाका उपसचिव विश्वराज न्यौपानेले एन्टिसिपेटरी एक्शन विपद् पूर्वतयारीको अभिन्न अङ्ग भएको स्पष्ट पारे । धेरैले यसलाई नगद वितरणमा मात्र सीमित रूपमा बुझ्ने गरेको उल्लेख गर्दै उनले मौसम पूर्वानुमानपछि गरिने सबै प्रारम्भिक कार्य यसकै हिस्सा हुने बताए विद्यमान नीतिले नगद सहायता अन्तिम विकल्पका रूपमा मात्र हेरेको पनि उनको भनाइ छ।

हाल प्राधिकरणले सन् २०२६ देखि २०३० सम्मको एन्टिसिपेटरी एक्शनसम्बन्धी राष्ट्रिय फ्रेमवर्क र रोडम्याप तयारी गरिरहेको छ। यो कार्यढाँचा सरकारको ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुरूप तयार भइरहेको जनाइएको छ।