प्रशोधित खाद्यमा बढ्दो ‘ट्रान्सफ्याट’, मुटु रोगको जोखिम बढ्दै


काठमाडौँ । नेपालमा प्रशोधित खाद्यपदार्थमा प्रयोग हुने ‘ट्रान्सफ्याट’ले मुटु रोगको जोखिम बढाउँदै लगेको पाइएको छ। पछिल्लो समय बजारमा उपलब्ध पाउरोटी, कुकिज, बिस्कुट, पपकर्नलगायत प्रशोधित खाद्यवस्तुमा ट्रान्स फ्याटको मात्रा उच्च भेटिन थालेपछि सरकारी निकायले अनुगमन कडा बनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा औद्योगिक कच्चा पदार्थ प्रयोग गरेर बनाइने खाद्यवस्तुमा ट्रान्स फ्याट बढी प्रयोग हुने गरेको देखिएको हो।

विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यका अनुसार विशेषगरी बेकरी उत्पादन, बिस्कुट, पपकर्नजस्ता वस्तुमा जोखिम उच्च देखिएको छ। केही दिनअघि गरिएको पपकर्नको नमूना परीक्षणमा अत्यधिक ट्रान्स फ्याट भेटिएपछि सम्बन्धित कम्पनीलाई बजारबाट फिर्ता लिन सचेत गराइएको थियो।

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ अन्तर्गत औद्योगिक रूपमा उत्पादित खाद्यवस्तुमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा तल राख्ने नीति लिएको छ।

२०७८ माघ २४ मा स्वीकृत उक्त नीतिअनुसार उद्योगमा निर्मित तथा प्याक गरिएका खानेकुरामा ट्रान्स फ्याटको सीमा तोकिएको हो। वैद्यका अनुसार यो नीति कार्यान्वयनको चरणमा छ र सन् २०२३ सम्म औद्योगिक रूपमा उत्पादित अस्वस्थकर चिल्लो पदार्थलाई राष्ट्रिय खाद्य प्रणालीबाट हटाउने रणनीतिक लक्ष्यसँग जोडिएको छ।

ट्रान्स फ्याट प्राकृतिक र औद्योगिक गरी दुई प्रकारका हुने वैद्यले स्पष्ट पारिन् । प्राकृतिक रूपमा पाइने ट्रान्स फ्याट गाई, भेडाजस्ता रुमिनेन्ट जनावरको पाचन प्रक्रियाबाट उत्पादन हुन्छ र दुध, घिउ, मासुजस्ता खाद्यवस्तुमा अत्यन्तै कम मात्रामा पाइन्छ।

तर औद्योगिक रूपमा उत्पादन गरिने ट्रान्स फ्याट भने वनस्पति तेललाई आंशिक हाइड्रोजेनेसन प्रक्रियाबाट बनाइने भएकाले यसको मात्रा धेरै हुने र स्वास्थ्यका लागि गम्भीर जोखिम पैदा गर्ने देखिएको छ।

औद्योगिक ट्रान्स फ्याट फास्ट फुड, पेस्ट्री, केक, बिस्कुट, फ्रेन्च फ्राइज, चिकन नगेट्स, माइक्रोवेभ पपकर्न, वेफर, जमेको मिठाइ, इन्स्ट्यान्ट नुडल्स, सर्टनिङ, आंशिक रूपमा हाइड्रोजनेट गरिएका तेल तथा केही प्रकारका मार्जारिनमा पाइन्छ। वनस्पतिजन्य तेललाई अत्यधिक तापक्रममा बारम्बार तताउँदा पनि ट्रान्स फ्याट उत्पादन हुने वैद्यको भनाइ छ।

ट्रान्स फ्याटले मुटुको धमनीमा बोसो जम्न थाल्ने, धमनी साँघुरो बनाउने र अन्ततः हार्ट अट्याकको जोखिम बढाउने वैज्ञानिक प्रमाण भेटिएको छ। कुल क्यालोरीमा ट्रान्स फ्याटको मात्रा प्रत्येक २ प्रतिशतले बढ्दा कोरोनरी हार्ट डिजिजको जोखिम २३ प्रतिशतले बढ्ने अध्ययनले देखाएका छन्।

विश्वव्यापी रूपमा हरेक वर्ष करिब ५ लाख ४० हजार मृत्यु औद्योगिक ट्रान्स फ्याटको सेवनसँग सम्बन्धित हुने अनुमान छ। भारतमा मात्र कोरोनरी हार्ट डिजिजका कारण हुने ६० हजारभन्दा बढी मृत्यु ट्रान्स फ्याटसँग जोडिएको तथ्याङ्क छ ।

ट्रान्स फ्याटको अत्यधिक सेवनले तौल वृद्धि, टाइप–२ मधुमेहको जोखिम, खराब कोलेस्ट्रोल बढ्ने र राम्रो कोलेस्ट्रोल घट्ने समस्या निम्त्याउने बताइएको छ। कुनै पनि कारणबाट हुने मृत्युको जोखिम ३४ प्रतिशत र मुटु रोगका कारण हुने मृत्यु २८ प्रतिशतले बढ्ने खतरा पनि यससँग जोडिएको छ।