घोराहीकाे स्वर्गद्वारी चकलेट उद्योगमा अनुगमन, अनुमतिविनै उत्पादन गरेको पाइएपछि १५० डब्बा मिठाई बिक्रीमा रोक


काठमाडाैँ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम दाङको घोराही उप–महानगरपालिकामा खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण हुने उद्योगहरूको निरीक्षण अनुगमन गरिएको छ।

खाद्य प्राविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले गत पुस ७ गते संयुक्त अनुगमन टोलीमार्फत अनुगमन गरेको हो।

अनुगमनका क्रममा घोराही–६ मा सञ्चालनमा रहेको स्वर्गद्वारी घरेलु चकलेट एण्ड फुड उद्योगले खाद्य अनुमतिपत्र नलिई खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गरिरहेको पाइएको विभागले जनाएको छ। साथै, सो उद्योगको खाद्य वस्तु उत्पादन स्थल खाद्य स्वच्छताको दृष्टिकोणले उपयुक्त नरहेको समेत अनुगमन टोलीले निष्कर्ष निकालेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको संयुक्त अनुगमन टोलीको रोहबरमा उक्त उद्योगबाट उत्पादन गरिएका मिठाईजन्य खाद्य वस्तु १५० डब्बा अर्को निर्णय नहुन्जेलका लागि बिक्री वितरण नगर्न निर्देशन दिइएको छ।

विभागका अनुसार उद्योगलाई खाद्य वस्तु उत्पादनका लागि उपयुक्त संरचना निर्माण गर्न, आवश्यक खाद्य अनुमतिपत्र लिएर कार्यालयलाई जानकारी गराउन तथा अनुमतिपत्र प्राप्त गरेपछि मात्र उत्पादन र बिक्री वितरण गर्न स्पष्ट निर्देशन दिइएको छ।

विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई निरन्तरता दिने र कानुन विपरीत कार्य गर्ने उद्योग–व्यवसायमाथि कडाइका साथ कारबाही गरिने जनाएको छ।