नक्कली प्रमाणपत्र पेश गरेर बढुवा लिएको आरोपमा सेवानिवृत्त प्रहरी सहायक निरीक्षक भट्टमाथि आरोपपत्र दायर


काठमाडौँ । सेवानिवृत्त प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर पदोन्नति लिएको आरोपमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत भट्टले भारतबाट ल्याएको नक्कली प्रमाणपत्र पेश गरी व्यक्तिगत फाइदा लिएको पाइएको छ। अनुसन्धानमा भेटिएको प्रमाण अनुसार, भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको झूट्टा प्रमाणपत्र प्रयोग गरी प्रहरी हवल्दारबाट प्रहरी सहायक निरीक्षकसम्म पदोन्नति लिएका थिए।

अख्तियारका अनुसार भट्टले २०५० साल माघ २० गते प्रहरी जवानको रूपमा नियुक्ति लिएर हालसम्म निवृत्तभरण सहितको हैसियत, लाभ तथा सुविधा लिएको पाइएकाे हाे । आयोगले यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ बमोजिमको कसूर ठहर गर्दै उनलाई कैद र जरिवाना सजाय माग गर्दै आरोपपत्र दायर गरेको छ।

अख्तियारको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार व्यक्तिगत लाभका लागि पेश गरिएको नक्कली प्रमाणपत्रसम्बन्धी उजुरीको आधारमा गरिएको छानबिनमा उक्त प्रमाणित भ्रष्टाचारको पुष्टि भएको हो।