भारतको कवाडी चामल ल्याएर बिक्री गरेकाे आरोपमा १२ व्यापारीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी


काठमाडौँ । भारतमा कवाडीमा बेचेको चामल किनेर नेपालमा आयात गरेर बेचेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएको छ ।

भारतमा कवाडीमा चामल उठाएर नेपालमा लङ्ग्रेन वासमति चामल भन्दै बेचेको आरोप लगाउँदै मञ्चले १२ जनाको व्यापारीमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको हो ।

पालका केही व्यापारीले भारतबाट अस्वस्थ्य एवं म्याद गुज्रेका कवाडीको चामल भारतीय खाद्य व्यापार निगमबाट खरिद गरी नेपालको विभिन्न सिमानाका हुँदै आयात गर्ने वा तसकरी गरी ल्याउने र उक्त चामल पुनः प्रसोधन गरी बजारमा विभिन्न ब्रान्डमा नाम राखी बिक्री वितरण गरेको मञ्चको दाबी छ ।

मञ्चले भनेको छ,“ नेपाली जनताको जिउज्यान र स्वास्थ्यमाथि खेलवाड गर्ने,राजस्व छल्ने र राज्यलाई बदनाम गर्ने कार्य गर्नेहरूले गर्दा सरकारको बदनाम भइरहेको छ । त्यसैले यस सम्बन्धमा सम्माननीय प्रधानमन्त्रज्यूबाट आवश्यक सुत्र परिचालन गरी अनुगमन,छानबिन गर्नुका साथै दोषी माथि हदैसम्मको कारबाही गरी पाउन यो निवेदन प्रस्तुत गर्दछौँ ।”

मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निवेदन बोधार्थ दिएको छ ।