स्याङ्जामा अवैध नदिजन्य पदार्थ ओसार–पसार गर्दै आएका टिपर र ट्याक्टर प्रहरी नियन्त्रणमा


काठमाडौँ । अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसार भइरहेको सूचनाका आधारमा स्याङ्जा प्रहरीले विभिन्न स्थानबाट सवारी साधनहरू नियन्त्रणमा लिएको छ।

प्राप्त सूचनापछि वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरी टोलीले बालुवा तथा ढुङ्गा लोड गरी अवैध रूपमा ओसार–पसार गरिरहेका सवारी साधनहरू फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीका अनुसार गल्याङ नगरपालिका वडा नम्बर ३ स्थित बल्पुक क्षेत्रबाट म.प्र.०३००२ ख १३५९ नम्बरको टिपर बालुवा बोकेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उक्त सवारी साधन प्रहरी चौकी गल्याङको नियन्त्रणमा राखिएको छ।

यसैगरी वालिङ नगरपालिका वडा नम्बर १ अन्तर्गत आँधिखोला किनारबाट ग.१ त. ४३९७ नम्बरको ट्याक्टर ढुङ्गा बोकेको अवस्थामा नियन्त्रणमा लिइएको छ। सो ट्याक्टर वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा छ।

त्यस्तै वालिङ नगरपालिका वडा नम्बर ११ स्थित आम्ले आँधिखोला किनारबाट ल.४ त. ६३४२ नम्बरको अर्को ट्याक्टर पनि ढुङ्गा बोकेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधन तथा नदिजन्य पदार्थको विषयमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।