काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आउँदाे पुस १५ गते ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना हुने भएको छ ।
सातौँ राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले उक्त मेला आयोजना गर्न लागेको हो । यो च्याउ किसानहरूको पहलमा मनाइँदै आएको सातौँ संस्करण भए पनि राज्यको तर्फबाट औपचारिक रूपमा मनाइने पहिलो राष्ट्रिय च्याउ दिवस हो ।
कृषि क्षेत्रमा च्याउको महत्व उजागर गर्दै यसको उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले मेला आयोजना गरिएको च्याउ उत्पादक किसान संघ नेपालका महासचिव विकास रिमालले जानकारी दिए । उनका अनुसार च्याउ खेतीमार्फत स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेशिनु नपर्ने वातावरण बनाउने सन्देश प्रवाह गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ ।
मेलामा ३५ वटा स्टलमार्फत च्याउसँग सम्बन्धित विभिन्न प्रदर्शनी राखिने आयोजकले जनाएको छ । ती स्टलहरूमा च्याउका विविध प्रजाति, उत्पादन प्रविधि, उपयोग र बजार सम्भावनाबारे जानकारी दिइनेछ । साथै गाये कन्ये, किड वयस्टर र सिताके च्याउ उत्पादनका प्रयोगात्मक प्रदर्शन तथा च्याउका विभिन्न परिकारहरूको प्रदर्शनी पनि रहनेछ ।
यसैबिच सरकारले हरेक वर्षको पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ दिवस’का रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले च्याउ खेतीको प्रवर्द्धन, किसान प्रोत्साहन तथा कृषि आत्मनिर्भरतामा टेवा पुर्याउने उद्देश्यले दिवस मनाउने निर्णय गरिएको जानकारी दिए ।
मेलामा च्याउ किसान, आम नागरिक, विभिन्न संघ–संस्था तथा राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियार कार्यक्रमका प्रमुख अतिथि रहने छन्।
च्याउ उत्पादक किसान संघ नेपाल २०६१ सालमा दर्ता भएको संस्था हो । संघले २०७६ सालमा ‘राष्ट्रिय च्याउ जागरण अभियान’ मेची–महाकाली सञ्चालन गरेको थियो । त्यसयता संघकै पहलमा प्रत्येक वर्ष पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाइँदै आएको भए पनि यस वर्षदेखि राज्यको औपचारिक मान्यतासहित राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्