रवि र बालेनबिच सातबुँदे सम्झौता,पार्टीको नेतृत्व रवि र सरकारको नेतृत्व बालेनले गर्ने समझदारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच सात बुँदे सहमति भएको छ ।

सहमतिमा पार्टी सभापति रबि लामिछाने नै रहने छन् भने झण्डा र चिन्ह पनि अहिले रास्वपाकै रहने छ । सहमति अनुसार बालेन अब हुने प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार हुने छन् ।

आज बिहान भएकाे सहमतिसँगै काठमाडौँका मेयर शाह औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन् । सम्झौतामा भने दुवैजनाले आफ्नो पदीय हैसियत खुलाएका छैनन् ।

सम्झौतामा नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्य लिई घाईते तथा सहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने भनिएको छ । यस्तै ‘समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने’ सम्झौतामा उल्लेख छ । सम्झौतामा रबि पहिलो पक्ष र बालेन दोस्रो पक्ष बनेर हस्ताक्षर गरेका छन् ।

सम्झौतामा ‘पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने’ भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा मावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख छ ।

बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने सम्झौतामा उल्लेख छ ।

यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति २ सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई आव्हान गरिएको छ ।