काठमाडाैँ । काठमाडौँ मेडिकल कलेजमा उपलब्ध क्याथ ल्याब र हालै सञ्चालनमा आएको इपि ल्याब प्रविधिले नेपालमा हृदय तथा मस्तिष्कसम्बन्धी रोगको निदान र उपचारमा उल्लेखनीय परिवर्तन ल्याएको छ ।
अत्याधुनिक प्रविधिको प्रयोगले परम्परागत ओपन हार्ट सर्जरीको विकल्पका रूपमा कम जोखिम, कम समय र सुरक्षित उपचार सम्भव भएको चिकित्सकहरूले बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा काठमाडौँ मेडिकल कलेजका प्राध्यापक डा. सहदेव ढुङ्गानाले क्याथ ल्याब र इलेक्ट्रोफिजियोलोजी (इपि) ल्याबले हृदय तथा मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा नयाँ युगको सुरुवात गरिरहेको बताए ।
उनका अनुसार यी प्रविधिबाट बिना ठूलो चिरफार मुटुको नशा, भल्ब, जन्मजात प्वाल तथा अन्य जटिल समस्या सुरक्षित रूपमा उपचार गर्न सकिन्छ ।
डा. ढुङ्गानाका अनुसार क्याथ ल्याब विशेष प्रकारको अत्याधुनिक एक्स–रे प्रविधि हो, जसले धड्किरहेको मुटु र नशासम्बन्धी समस्याको प्रत्यक्ष अवलोकन गर्दै उपचार गर्न सहयोग पुर्याउँछ । यसमा हात वा खुट्टाको नशाबाट सानो सुईमार्फत क्याथेटर प्रवेश गराई मुटुसम्म पुर्याइन्छ ।
सोही माध्यमबाट नशा ब्लकेज पत्ता लगाउने, एन्जियोग्राफी गर्ने र आवश्यक परे स्टेन्ट राखेर नशा खोल्ने जस्ता उपचार गरिन्छ । यस प्रविधिले धेरै जटिल मानिने रोगहरूलाई पनि सहज र सुरक्षित बनाएको उनले बताए ।
काठमाडौं मेडिकल कलेजमा प्रयोग हुँदै आएको क्याथ ल्याब बाइ–प्लेन प्रविधिको भएकाले एकैचोटि दुईवटा कोणबाट तस्बिर लिन सकिने सुविधा रहेको डा. ढुङ्गानाले जानकारी दिए ।
यसले डाई र विकिरणको मात्रा कम गर्ने भएकाले बिरामीको मिर्गौलामा पर्ने असर घट्नुका साथै चिकित्सकका लागि पनि काम सहज हुने उनको भनाइ छ ।
नेपालमा करिब एक दशकअघि भित्रिएको क्याथ ल्याब सेवा काठमाडौं मेडिकल कलेजमा भने करिब तीन वर्षदेखि उपलब्ध छ । यसको प्रयोगबाट बिरामीको डर कम हुने, छिटो डिस्चार्ज गर्न सकिने र समयको उल्लेखनीय बचत हुने डा. ढुङ्गानाले बताए ।
हार्ट अट्याकको उपचारमा समय नै सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै डा. ढुङ्गानाले १ देखि २ घण्टाभित्र नशा खोल्न सकिए मुटु सामान्य अवस्थामा फर्कन सक्ने बताए । ढिलाइ भएमा मुटुको मांसपेशी मर्न थाल्ने र मुटु कमजोर हुने जोखिम बढ्ने भएकाले समयमै एन्जियोप्लास्टी आवश्यक हुने उनको भनाइ छ ।
पछिल्ला तीन वर्षमा काठमाडौँ मेडिकल कलेजमा करिब १५० देखि १६० बिरामीमा सफलतापूर्वक एन्जियोप्लास्टी गरिएको डा. ढुङ्गानाले जानकारी दिए ।
अस्पतालमा दैनिक रूपमा तीनदेखि चार जनासम्म एन्जियोग्राफी हुने गरेको छ । सरकारी स्वास्थ्य बिमा तथा विपन्न वर्गका बिरामीका लागि दुईदेखि तीन लाख रुपैयाँसम्मको सहुलियत उपलब्ध गराइएकाले ग्रामीण भेगका नागरिकका लागि पनि हृदयरोग उपचार सहज बनेको उनले बताए ।
यसैबिच कलेजले हालै सुरू गरेको इपि ल्याब प्रविधि नेपालमा अझै सीमित अस्पतालमा मात्र उपलब्ध रहेको डा. ढुङ्गानाले बताए । इपि ल्याबबाट मुटुको चाल अनियमित हुने, मुटु हल्लिने, चक्कर लाग्ने वा बेहोस हुने जस्ता विद्युतीय समस्याको निदान र उपचार गरिन्छ ।
उनका अनुसार मुटुमा पेसमेकर बाहेक अन्य अवाञ्छित विद्युतीय मार्गबाट उत्पन्न हुने समस्या विशेष क्याथेटरमार्फत पहिचान गरी रेडियो फ्रिक्वेन्सी प्रयोग गरेर बन्द गरिन्छ । यसपछि मुटुको चाल सामान्य हुने र बिरामीलाई दीर्घकालीन राहत मिल्ने उनले बताए ।
क्याथ ल्याबले मात्र विद्युतीय समस्या समाधान गर्न नसक्ने भए पनि इपि ल्याबले निदान र उपचार दुवै सम्भव बनाएको डा. ढुङ्गानाको भनाइ छ ।
नेपालमा हाल इपि ल्याबसहितको सेवा चार–पाँचवटा अस्पतालमा मात्र सीमित रहेकाले यस सेवाको विस्तार सकारात्मक कदम भएको उनले बताए । अब बिरामीले कम डर, कम समय र तुलनात्मक रूपमा सस्तो खर्चमा गुणस्तरीय उपचार पाउन सक्ने विश्वास उनको छ ।



प्रतिक्रिया दिनुहोस्