काठमाडाैँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबिचको सम्बन्ध आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउँदै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
नेपाल र चीनबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा वर्षभर आयोजित विविध कार्यक्रमहरूको समापनका सन्दर्भमा चिनियाँ दुतावासद्वारा आयोजित विशेष स्वागत समारोहमा उनले यस्तो धारणा राखेकी हुन् ।
समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले दुई देशबिचको सम्बन्ध सरकारी स्तरमा मात्र सिमित हुनु नहुने भन्दै जनस्तरमा पनि विस्तार हुनुपर्ने बताइन् ।
उनले व्यापार, लगानी र भौतिक पूर्वाधारका क्षेत्रमा दुवै देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गरिन् ।
चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रूपमा लिने बताउँदै उहाँले शान्तिपूर्ण सह–अस्तित्वका पाँच सिद्धान्तले यो मित्रतालाई बलियो आधार प्रदान गरेको उल्लेख गरिन् ।
प्राकृतिक सीमाका रूपमा रहेका हिमालयहरू कहिल्यै पनि सम्बन्धमा वाधक नबनेको बरु निकटता, साझा भाग्य र शान्तिपूर्ण सहअस्तित्वको प्रतिक बनेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्