प्रिक्साले दैलो कृषि अधिग्रहण गर्‍यो, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली बनाउने लक्ष्य


काठमाडौँ । नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो र सुरक्षित बनाउने उद्देश्यले प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ ।

अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल र खाद्यान्न कहाँ उत्पादन भयो, कसरी आयो भन्ने कुरा उपभोक्ताले सजिलै थाहा पाउन सक्ने प्रणाली विकास गरिने प्रिक्साले जनाएको छ ।

प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनीष शर्माका अनुसार नेपालमा खाद्य क्षेत्रमा विश्वासको ठूलो अभाव छ । “हामी जे खान्छौँ, त्यसमा भरोसा हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो,” उनले भने ।

नेपाललाई केवल बजार नभई नयाँ प्रणाली विकास गर्ने प्रयोगशालाका रूपमा हेरेर काम गरिरहेको पनि उनको भनाइ छ ।

दैलो कृषि किसान र सहकारीसँग मिलेर सिधै उपभोक्ताको घरसम्म ताजा र प्रमाणित कृषि उपज पु¥याउँदै आएको प्लेटफर्म हो । यसको संस्थापक धीरज चापागाईं को नेतृत्वमा दैलो कृषिले उत्पादनको स्रोत खुल्ने (ट्रेसिबल) प्रणालीमा काम गर्दै आएको छ ।

प्रिक्साले दैलो कृषि किनेपछि तुरुन्तै नाम परिवर्तन गर्ने वा आक्रामक विस्तार गर्नेभन्दा पनि दीर्घकालीन रूपमा कृषि क्षेत्रमा विश्वासिलो, पारदर्शी र दिगो पूर्वाधार निर्माणमा ध्यान दिने जनाएको छ ।

यस अधिग्रहणलाई नेपालमा खाद्य सुरक्षा, किसानको सशक्तीकरण र उपभोक्ताको आत्मविश्वास बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।