स्याङ्जामा करिब १३ लाख बराबरको अवैध सुर्ती बरामद


काठमाडाैँ । अवैध रूपमा ओसार–पसार गरिँदै आएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ स्याङ्जामा बरामद गरिएको छ।

प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ८ः३० बजेको समयमा वालिङ नगरपालिका–८ स्थित मालपोत चोकमा सवारी साधन चेकजाँच गरेको थियो।

सो क्रममा प्रदेश ३–०१–०२३ च ८७५२ नम्बरको सुजुकी ईको भ्यान जाँच गर्दा बिना बिल तथा कागजात अवैध रूपमा ओसार–पसार गरिँदै आएको सुर्तीजन्य पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ‘सुपर पावर चक्का’ लेखिएको सुर्ती राखिएको ८ बोरा बरामद गरिएको छ।

प्रत्येक बोरामा ५०–५० प्याकेटका दरले जम्मा ४०० पोका सुर्ती रहेको छ भने खुला अवस्थामा थप २ पोका र ३६ थान सुर्तीसमेत फेला परेको हो। बरामद गरिएको सुर्तीजन्य पदार्थको अन्दाजी मूल्य १२ लाख ९२ हजार १ सय १७ रुपैयाँ रहेको बताइएको छ।

बरामद गरिएको सुर्तीजन्य पदार्थ र सवारी साधनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।