दुधकोशी जलाधारका अधिकांश विद्यालय जलवायु र हिमताल विस्फोटजन्य जोखिममा


काठमाडाैँ । दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने प्रक्रिया र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) जस्ता बहुप्रकोपिय जोखिममा रहेको एक अध्ययनले देखाएको छ।

स्वीट्जरल्यान्डस्थित युनिभर्सिटी अफ लुजान (युएनआईएल) ले दुधकोशी जलाधारका माथिल्लो तथा तल्लो तटीय क्षेत्रका विद्यालयहरूमा गरेको अध्ययनले पृथ्वीको तापक्रम वृद्धि हुँदै जाँदा जलवायु प्रणालीमा आएको परिवर्तनका कारण बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम तीव्र बन्दै गएको निष्कर्ष निकालेको हो।

अध्ययनमा विद्यार्थी र शिक्षकको जलवायु परिवर्तन तथा हिमनदी विस्फोटसम्बन्धी ज्ञान र बुझाइ, विद्यालयको भौगोलिक अवस्थिति, नदी तथा हिमतालबाटको दूरी, विपद् जोखिमसम्बन्धी प्रशिक्षण सामग्री, सम्भावित जोखिमको आँकलन र त्यसका आधारमा गरिने कृत्रिम अभ्यासलगायतका मापदण्डलाई आधार बनाइएको थियो।

विद्यालयका भौतिक संरचना, पाठ्यक्रम र विद्यार्थीको सिकाइ तथा ज्ञानसम्बन्धी कुल १ सय ४२ वटा सूचकका आधारमा जोखिम मूल्यांकन गरिएको हो।

अध्ययनअनुसार दुधकोशी जलाधार क्षेत्रका विद्यालयमध्ये हलेसी तुवाचुङ नगरपालिका–१, जयारामघाटमा रहेको श्री दुधकोशी आधारभूत विद्यालय सबैभन्दा उच्च जोखिममा देखिएको छ।

दुधकोशी नदीको कटान तथा माथिल्लो तटीय क्षेत्रबाट सम्भावित हिमताल विस्फोटपछि आउने बाढीका कारण उक्त विद्यालय गम्भीर जोखिममा रहेको अध्ययनले औंल्याएको छ।

उच्च जोखिम देखिएपछि विद्यालयले युनिभर्सिटी अफ लुजानको सहयोगमा जलवायु परिवर्तन, हिमनदी पग्लने प्रक्रिया र हिमताल विस्फोटजन्य बाढीसम्बन्धी सचेतना तथा तयारी कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा विद्यार्थी र शिक्षकलाई जलवायु परिवर्तन, बाढी–पहिरो, हिमनदीजन्य बाढी र हिमताल विस्फोटबाट हुने सम्भावित जोखिमबारे जानकारी दिइनुका साथै त्यसबाट जोगिन गरिने कृत्रिम अभ्यास पनि गराइएको थियो।

कृत्रिम अभ्यासका क्रममा सम्भावित जोखिमको पूर्वसूचना प्राप्त भएपछि कसले संकेत घण्टी र साइरन बजाउने, विद्यार्थीको उपस्थितिको रुजु कसरी गर्ने, सुरक्षित स्थानमा कसरी लैजाने र सुरक्षित स्थानमा पुगेपछि पुनः उपस्थिति जाँच गर्ने भन्ने विषयमा अभ्यास गराइएको थियो।

बाढी आइपुग्न लाग्ने समय अर्थात् लिड टाइमको आधारमा सुरक्षित स्थान पहिचान गरी त्यहाँसम्म लैजाने इभ्याकुएसन ड्रिल गरिएको थियो। अभ्यासका क्रममा विद्यार्थीलाई विद्यालयबाट करिब १ सय मिटर माथि रहेको माझी चौतारोलाई पहिलो सुरक्षित केन्द्रका रूपमा र गोल भञ्ज्याङ फुटबल मैदानलाई अन्तिम सुरक्षित स्थलका रूपमा चिनाइएको थियो। अभ्यासपछि विद्यार्थीहरूले वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी आफ्ना बुझाइ चित्रमार्फत प्रस्तुत गरेका थिए।

सचेतना कार्यक्रमको उद्घाटन गर्दै हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले विद्यालयको विपद् जोखिम व्यवस्थापनमा नगरपालिका गम्भीर रहेको बताइन । उनले मानवजन्य गतिविधिले जलवायु परिवर्तनलाई बढावा दिएको उल्लेख गर्दै प्रकृति संरक्षणमा सबैको साझा जिम्मेवारी आवश्यक रहेको धारणा राखिन्। विद्यालयको वर्तमान स्थान उपयुक्त नभएकाले समुदायले सुरक्षित जग्गा उपलब्ध गराए नगरपालिकाले स्रोत परिचालन गरी विद्यालय स्थानान्तरण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

उनले भनिन्, “विद्यालयहरूको सुरक्षा र जोखिम न्यूनीकरणमा नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ। विद्यालयमा क्षति पुग्दा सयौँ बालबालिकाको भविष्य जोखिममा पर्छ। यदि समुदायले सुरक्षित जग्गा उपलब्ध गरायो भने नगरपालिकाले विद्यालय स्थानान्तरण गर्छ र यस्ता कृत्रिम अभ्यासलाई नियमित बनाइनेछ।”

युनिभर्सिटी अफ लुजानका अध्येता दीपक केसीले दुधकोशी जलाधार क्षेत्र जलवायुजन्य जोखिमका कारण संवेदनशील बन्दै गएको बताए । उनका अनुसार हिम पग्लने अवस्था, हिमतालको निर्माण र विस्फोटको सम्भावित असरबारे विद्यार्थीलाई जानकारी दिनुका साथै बाढी आएमा सुरक्षित स्थानमा जाने व्यवहारिक अभ्यास गराइएको हो। उनले सरकारको नीतिअनुसार जलवायुजन्य विपद् र त्यसबाट जोगिने उपाय समेटिएको स्थानीय पाठ्यक्रम विकास गरी नियमित अभ्यास गराउनुपर्नेमा जोड दिए ।

इन्जिनियर डा. सञ्जय देवकोटाले दुधकोशी जलाधार क्षेत्रको भू–बनावट र त्यसले निम्त्याउन सक्ने जोखिमबारे जानकारी गराउँदै उच्च हिमाली क्षेत्रमा हिमतालको आयतन बढ्दै जाँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिए । उनका अनुसार यस क्षेत्रका पुल, सडक र विद्यालयजस्ता पूर्वाधार उच्च जोखिममा रहेका छन्।

अभ्यासपछि विद्यालयका प्रधानाध्यापक दयानन्द चौधरीले पहिलो पटक गरिएको यस्तो कृत्रिम अभ्यास अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिए । नदी किनारमा विद्यालय भएकाले विद्यार्थीको सुरक्षालाई लिएर सधैं चिन्ता रहने भन्दै उहाँले विद्यालय स्थानान्तरणका लागि सम्बन्धित निकायसँग आग्रह गरे ।

कार्यक्रमका क्रममा विद्यालयलाई जलवायु परिवर्तन र विपद् जोखिमसम्बन्धी पोस्टर, पर्चा र शिक्षक मार्गदर्शिका हस्तान्तरण गरिएको थियो। करिब ९० जना विद्यार्थी र शिक्षक यस कार्यक्रमबाट लाभान्वित भएका छन्। साथै, कार्यक्रमपछि विद्यार्थीहरूले इको–डिआरआर क्लब गठन गरी वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी गतिविधि सञ्चालन गर्ने निर्णय गरेका छन्।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार विद्यालयलाई विपद्–सुरक्षित बनाइनुपर्ने र विपद्का बेला आश्रयस्थलका रूपमा प्रयोग गरिनुपर्ने मान्यता छ। तर विद्यालय नै उच्च जोखिममा रहनु गम्भीर विषय भएको भन्दै विज्ञहरूले बहुप्रकोपिय जोखिम मूल्याङ्कन, सुरक्षित स्थानमा विद्यालय स्थानान्तरण, जोखिमरहित संरचना निर्माण र स्थानीय पाठ्यक्रममार्फत नियमित अभ्यास आवश्यक रहेको औंल्याएका छन्।

नेपालको संविधानले पनि स्थानीय सरकारलाई स्थानीय भूगोल र जलवायुअनुसार पाठ्यक्रम विकास गर्ने अधिकार दिएको भए पनि यस विषयले स्थानीय सरकारको प्राथमिकता पाउन नसकेको सरोकारवालाको भनाइ छ।