देशलाई निकास दिने उत्तम विकल्प निर्वाचन नै हो : पुष्पकमल दाहाल


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई वर्तमान सङ्कटबाट निकास दिने सबैभन्दा उत्तम र सुरक्षित विकल्प निर्वाचन नै भएको बताएका छन् ।उनले अन्य विकल्पतर्फ सोच्दा देश पुनः दुर्घटनातर्फ जान सक्ने खतरा रहेको चेतावनीसमेत दिए ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले राजनीतिक स्थिरता, स्थायित्व र विकासको नयाँ प्रक्रियातर्फ देशलाई अघि बढाउन निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे ।

उनका अनुसार सबै राजनीतिक दलहरू विभिन्न उतारचढावका बाबजुद निर्वाचनमार्फत नै समस्याको समाधान खोज्ने निष्कर्षमा पुगेका छन्, जुन सकारात्मक वातावरणको सङ्केत हो।

देश सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सामूहिक प्रयासबाट मात्रै अराजकता फैलिन सक्ने सन्त्रास र आशंकाबाट मुलुकलाई मुक्त गर्न सकिने बताए । निर्वाचन प्रक्रियामा सहभागी भई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नु सबै राजनीतिक शक्तिको साझा दायित्व भएको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै दाहालले पछिल्लो समय नयाँ पुस्ताका युवाहरूको राजनीतिप्रति बढ्दो रुचिलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे । उनले शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट नै देशलाई निकास दिनुपर्नेमा जोड दिए ।