शीतलहरले मधेसका दलित समुदाय बढी पीडित, सक्रिय भूमिका खेल्न आयोगलाई उपराष्ट्रपति यादवको आग्रह


काठमाडाैँ । मधेसमा हाल देखिएको शीतलहरका कारण दलित समुदाय अत्यन्त पीडामा परेको उपराष्ट्रपति रामसहाय यादवले बताएका छन्। राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्राकृतिक विपद्का समयमा दलित समुदाय सबैभन्दा बढी जोखिममा पर्ने गरेको उल्लेख गरेका हुन् ।

उनका अनुसार राज्यको पहुँच कमजोर भएका क्षेत्र र समुदायमा दलितहरू अझै पनि शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँचको रेखाभन्दा बाहिर सीमान्तकृत अवस्थामा रहेका छन्। विशेषगरी तराई–मधेसका दलित समुदाय मूलधारबाट टाढा रहेकाले उनीहरूलाई समावेशी बनाउने दिशामा राष्ट्रिय दलित आयोगले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनकाे भनाइ छ।

उपराष्ट्रपति यादवले आयोगले अभिभावकको भूमिकामा रहेर तत्काल सहयोग गर्न सक्ने अवस्थामा प्रत्यक्ष सहयोग गर्न र आफैंले गर्न नसक्ने अवस्थामा सरकारको ध्यानाकर्षण गराएर आवश्यक सहयोग जुटाउनुपर्नेमा जोड दिए । सरकारले ध्यान नपुर्‍याएका स्थानहरूमा आयोगले तुरुन्तै राज्यको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ छ।

स्वास्थ्य बिमा जस्ता राज्यका महत्वपूर्ण कार्यक्रमहरूमा पनि आर्थिक अभाव र जनचेतनाको कमीका कारण धेरैजसो दलित समुदाय लाभान्वित हुन नसकेको उनले बताए । यसका लागि आयोगले संस्थागत रूपमा जागरुकता अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । साथै दलित लक्षित सीपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरू अत्यन्त विपन्न क्षेत्र र बस्तीमा सञ्चालन गर्न आयोगले थप पहल र सक्रियता देखाउनुपर्ने सुझाव दिए ।

उनले समाजमा अझै पनि विभिन्न कुरीति, विसङ्गति र भेदभावका अवशेषहरू कायम रहेकाले ती हटाउनु चुनौतीपूर्ण रहेको बताए। दलित समुदायभित्रै पनि विभेद र छुवाछुतका समस्या विद्यमान रहेको उल्लेख गर्दै यस्ता अभ्यास अन्त्य गर्न आयोगले अग्रसरता लिनुपर्नेमा जोड दिए।

कार्यक्रममा उपराष्ट्रपति यादवले आयोगले तयार पारेको रणनीतिक योजना २०८२/८७ र उजुरी व्यवस्थापन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि आग्रह गरे ।