काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बिच एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । आज काठमाडौँमा दुवै दलका शीर्ष नेताहरूको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।
देशको बदलिँदो राजनीतिक परिवेश, जनतामा बढ्दो निराशा र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै दुवै दल एकतामा जाने निष्कर्षमा पुगेका छन् ।
सहमति पत्रमा उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, बहुलवादी लोकतान्त्रिक प्रणाली र समतामूलक शासनलाई केन्द्रीय आधार बनाइएको उल्लेख छ ।
विशेषगरी भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनमा जीवन गुमाएका शहीद तथा घाइतेहरूको बलिदानलाई प्रेरणाका रूपमा लिइएको सहमतिमा उल्लेख गरिएको छ ।
सहमति अनुसार नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध उठाएको आवाजको मर्मलाई आत्मसात् गर्दै आन्दोलनमा घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणालीको स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई प्राथमिकतामा राख्दै आर्थिक तथा सामाजिक उन्नयनका लागि गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधार अघि बढाइने उल्लेख छ । आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित मार्गचित्रको इमानदार कार्यान्वयनमा प्रतिबद्ध रहने सहमतिमा जनाइएको छ ।
एकता पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति रहने र चुनाव चिन्ह ‘घण्टी’ कायम रहने सहमति भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ । नेतृत्व संरचनामा रास्वपाका सभापति रवि लामिछाने नै केन्द्रीय सभापति रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ ।
उज्यालो नेपालको अभियानलाई रास्वपाका कार्यक्रमहरूसँग जोड्दै एकतापछि पार्टीको संगठनात्मक संरचनालाई अझ सुदृढ र फराकिलो बनाइने उल्लेख छ ।
यसका लागि उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर जिम्मेवारी दिइने सहमतिमा उल्लेख गरिएको छ ।
सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ । साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत र परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई समेत आह्वान गरिएको छ ।
सहमति पत्रमा रास्वपाका सभापति लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह साक्षीका रूपमा उपस्थित रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्