काठमाडाैँ । च्याउको महत्व प्रचार–प्रसार गर्दै गुणस्तरीय उत्पादन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि, आन्तरिक खपत वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यका साथ आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदै छ। सरकारको गत ११ गतेको निर्णयअनुसार प्रत्येक वर्ष पौष १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने व्यवस्था गरिएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा. मदन प्रसाद परियारले प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै च्याउ उपक्षेत्र साना तथा मझौला कृषकहरूको आयआर्जनको महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको बताए। उनका अनुसार च्याउ उपक्षेत्रको कृषि गार्हस्थ्य उत्पादन मा करिब ०.१५ प्रतिशत योगदान रहेको छ भने देशभर करिब ३५ हजार किसान यस क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न छन्।
मन्त्री परियारले नेपालमा हालसम्म पहिचान गरिएका करिब ११५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खान योग्य, ७० प्रजाति औषधीय गुणयुक्त र करिब १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको जानकारी दिए। पछिल्ला वर्षहरूमा उद्यमी र सरकारको सहकार्यका कारण च्याउको व्यवसायिक उत्पादनमा उल्लेखनीय प्रगति हुँदै गएको र आयात प्रतिस्थापनसँगै निर्यात प्रवर्द्धनको आधार तयार हुँदै गएको उनको भनाइ छ।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६ लाख ७१ हजार रुपैयाँ बराबरको २२६२ केजी ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात भएको थियो भने १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार १९८ केजी च्याउ निर्यात भएको तथ्यांक छ। पछिल्लो समय सुकाएको च्याउ समेत निर्यात हुन थालेको उनले बताए।
अन्य खेतीको तुलनामा छिटो उत्पादन लिन सकिने, न्यून जमिन र सीमित कृषि सामग्री प्रयोग गरेर पनि उत्पादन सम्भव हुने तथा नेपालको भौगोलिक र जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने भएकाले च्याउ खेती रोजगार सृजना, कृषि अर्थतन्त्रमा योगदान, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको मन्त्री परियारले उल्लेख गरे।
उनका अनुसार च्याउ उत्पादन प्रवर्द्धन तथा व्यवसायीकरण मन्त्रालयको प्राथमिकतामा पर्दै आएको छ। हाल कृषि विभागअन्तर्गत व्यवसायिक कीट विकास केन्द्रमार्फत च्याउ प्रविधि विस्तार, बजारीकरण प्रवर्द्धन र नीतिगत सहजीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै, अनुसन्धान तथा गुणस्तरीय बीउ आपूर्तिका लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रबाट कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा मन्त्री परियारले च्याउ उत्पादक, उद्यमी, उपभोक्ता तथा सरोकारवाल सबैलाई शुभकामना व्यक्त गर्दै यस दिवसले च्याउ मूल्य श्रृंखलामा आबद्ध किसान, उद्योगी, अनुसन्धानकर्ता र व्यवसायीबीच सहकार्य र साझेदारी बढाउने विश्वास व्यक्त गरे। साथै, च्याउको पोषण र आर्थिक महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, किसानलाई नयाँ प्रविधि र बजार अवसरसँग जोड्ने तथा आगामी दिनमा नीतिगत मार्गदर्शन गर्न सहयोग पुग्ने अपेक्षा समेत व्यक्त गरे।
पौष १५ लाई च्याउ महोत्सवको रूपमा मनाउँदै आगामी दिनमा यस क्षेत्रको थप प्रवर्द्धनका लागि अध्ययन, अनुसन्धान, पूर्वाधार विकास र बजारीकरणमा संलग्न सबै सरोकारवालाबीच समन्वय र सहयोग आवश्यक रहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्