काठमाडाैँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहेजस्तै समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक देश निर्माण गर्ने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको बताएकी छन् ।
तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पछिल्ला दिनहरूमा देखिएका घटनाक्रमबाट आवश्यक पाठ सिक्दै सरकार संविधानसम्मत र शान्तिपूर्ण मार्ग अवलम्बन गरेर अघि बढेको उल्लेख गरिन् । युवाको आकांक्षा अनुसारको देश निर्माणका लागि स्वच्छ र निष्पक्ष निर्वाचन नै मुख्य आधार भएको उनकाे भनाइ थियो।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण देशभर बन्दै गएको बताउँदै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची उत्साहका साथ निर्वाचन आयोगमा पेस गरिसकेको प्रसंग उल्लेख गरिन्। यसले निर्वाचन सम्पन्न गर्ने दिशामा महत्वपूर्ण कोशेढुंगा पार भएको उनले बताइन् ।
उनले भनिन्, “पछिल्ला परिस्थितिबाट सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणतर्फ अग्रसर भएका छौँ। यसको मूल आधार स्वच्छ र निष्पक्ष निर्वाचन हो। निर्वाचनको वातावरण क्रमशः सुदृढ बन्दै गएको छ र राजनीतिक दलहरूको सक्रिय सहभागिताले यस प्रक्रियालाई थप मजबुत बनाएको छ।”
प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया सफल बनाउन राजनीतिक दलका नेतृत्व, युवाहरू तथा यसमा संलग्न सबै सरोकारवालाप्रति आभार व्यक्त गरिन्। आगामी चरणहरूमा पनि यस्तै उत्साह, समझदारी र सहकार्य कायम रहने विश्वास सरकारको रहेको उनले बताइन् ।
सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्दै उहाँले यसका लागि सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन् । मुलुकले अब अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको भन्दै सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिइन्।



प्रतिक्रिया दिनुहोस्