न्यून आयस्रोत भएका किसानका लागि च्याउ खेती जीविकोपार्जनको उत्कृष्ट माध्यम हाेः मन्त्री परियार


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले न्यून आयस्रोत भएका किसानका लागि च्याउ खेती जीविकोपार्जनको उत्कृष्ट माध्यम भएको बताएका छन्। पहिलो च्याउ दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको र उपभोक्तामा यसको माग लगातार बढ्दै गएको बताएका हुन्।

उनका अनुसार नेपालमा हाल वार्षिक १५ हजार मेट्रिक टनभन्दा बढी ताजा च्याउ उत्पादन हुँदै आएको तर माग करिब ७२ हजार मेट्रिक टन रहेको छ। च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन भएतापनि व्यवसायिक रूपमा ४७ जिल्लामा मात्रै उत्पादन भइरहेको छ। देशभर करिब ३५ हजार किसान प्रत्यक्ष रूपमा च्याउ खेतीमा संलग्न छन्।

मन्त्री परियारले भने, “न्यून आयस्रोत भएका कृषकका लागि च्याउ खेती जीविकोपार्जनको राम्रो माध्यम हो। आधुनिक उच्च प्रविधि प्रयोग गरी औद्योगिक रूपमा व्यवसायिक उत्पादन गर्न सकिएमा यसले रोजगारी सिर्जना गर्न पनि सक्छ।”

नेपालमा आर्थिक वर्ष २०८१/८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रुपैयाँ बराबरको २,२६२ केजी आयात भएको थियो भने १ करोड १ लाख रुपैयाँ बराबरको १७,१९८ केजी च्याउ निर्यात भएको छ। पछिल्लो समय अन्य प्रजातिका च्याउ पनि निर्यात हुन थालेका छन्।

च्याउमा मानव शरीरका लागि आवश्यक १२ प्रकारका एमिनो एसिडमध्ये ९ प्रकार पाइन्छ। साथै प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ र भिटामिनजस्ता पौष्टिक तत्व पनि च्याउमा उपलब्ध छन्। मन्त्री परियारका अनुसार, साकाहारीका लागि समेत च्याउ पौष्टिक तत्वको हिसाबले मासु र तरकारीको बीचमा पर्दछ।

नेपालमा च्याउ खेती अझै पर्याप्त रूपमा विस्तार हुन सकेको छैन। रैथाने च्याउ तथा नयाँ प्रजातिहरूको अध्ययन–अनुसन्धान, खेती प्रविधि विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन।

हाल राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रबाट च्याउ प्रविधि प्रचार, मूल्य श्रृंखला विकास, अनुसन्धान र बीउ उत्पादनको काम भइरहेको छ। गत वर्षदेखि काभ्रेको कोपासीस्थित रेशम विकास केन्द्रमा च्याउको राष्ट्रिय स्रोत केन्द्र विकास गर्ने कार्यक्रम समेत सुरु गरिएको छ।

यस वर्ष च्याउको गुणस्तर नियमन, बीउ उत्पादन परीक्षण लगायत कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण सम्पन्न हुने छ। पहिलो च्याउ दिवसको अवसरमा च्याउ मेला तथा परिकार महोत्सव आयोजना गरिएको छ भने उत्कृष्ट किसानलाई सम्मान पनि गरिएको छ। नेपालमा गोव्रे, खन्ने, पराले, सिताके, वेस्टन, रातो र दुधे लगायत विभिन्न जातका च्याउ व्यवसायिक रूपमा उत्पादन हुँदै आएका छन्।