स्याङ्जामा नदिजन्य पदार्थको अवैध उत्खनन र ओसार–पसारमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा


काठमाडाैँ । स्याङ्जामा नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसारमा संलग्न तीनवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसार–पसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, प्रहरी चौकी दहथुम र फेदिखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट बालुवा तथा गिट्टी लोड गरी ओसार–पसार गरिरहेका ट्याक्टरहरू नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गत पुस १४ गते पुतलीबजार नगरपालिका–१४ स्थित लामागे आँधिखोलाबाट ग.१ त. ४७९३ नम्बरको ट्याक्टर बालुवा–गिट्टी मिक्स लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको छ। उक्त ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको छ भने रु. २० हजार जरिवाना गरिएको छ।

त्यसैगरी सोही दिन भीरकोट नगरपालिका–४ सिम्ले क्षेत्रबाट ग.१ त. ७३७१ नम्बरको ट्याक्टर बालुवा ओसार–पसार गरिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त ट्याक्टरलाई भीरकोट नगरपालिकाको कार्यालयमा पठाई रु. १० हजार जरिवाना गरिएको छ।

यस्तै पुस १५ गते फेदिखोला गाउँपालिका–४ फेदिखोला क्षेत्रबाट ग.१ त. ६४९० नम्बरको ट्याक्टर बालुवा–गिट्टी मिक्स लोडसहित नियन्त्रणमा लिइएको छ। सो ट्याक्टरमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढिरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीले नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसारले वातावरणीय जोखिम बढ्नुका साथै कानुन विपरीत हुने भएकाले यस्ता गतिविधिमा संलग्नमाथि कडाइका साथ कारबाही जारी रहने जनाएको छ।