तयारी नपुगेका योजनाको बजेट रोक्का गरी निर्वाचन खर्च व्यवस्थापन गरिएको अर्थमन्त्री खनालको स्पष्टोक्ति


काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुनमा हुने निर्वाचनका लागि चालु आर्थिक वर्षकै बजेटबाट आवश्यक खर्च व्यवस्थापन भइसकेको स्पष्ट पारेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तयारी नपुगेका हजारौँ योजनाको बजेट रोक्का गरेर निर्वाचन तथा पुनर्निर्माणका लागि स्रोत जुटाइएको बताएका हुन् ।

अर्थमन्त्री खनालका अनुसार चालु आर्थिक वर्षको बजेटमा कुनै पूर्वतयारीबिनै ४ हजारभन्दा बढी योजनामा प्रतियोजना ३ करोड रुपैयाँका दरले बजेट छुट्टाइएको थियो।

यस्ता आयोजनामा करिब १२० अर्ब रुपैयाँ विनियोजन भएको पाइएको र आफू अर्थमन्त्री भएपछि ती बजेट रोक्का गरिएको उनको भनाइ छ। तीमध्ये टेण्डर भइसकेका, टेण्डर प्रक्रियामा रहेका तथा प्रोजेक्ट बैंकबाट आएका आवश्यक आयोजनाका लागि भने बजेट फुकुवा गरिएको उनले जानकारी दिए। हालसम्म करिब ३१ अर्ब रुपैयाँ फुकुवा भइसकेको र अझै करिब ८० अर्ब रुपैयाँ रोक्कामै रहेको उनले बताए ।

रोक्का गरिएको बजेटबाट सरकारले निर्वाचन र पुनर्निर्माणका लागि आवश्यक खर्च गर्ने अर्थमन्त्री खनालको भनाइ छ। उहाँका अनुसार निर्वाचन आयोगका लागि ६ अर्ब ९ करोड रुपैयाँ स्वीकृत भई निकासा भइसकेको छ भने म्यादी प्रहरी व्यवस्थापनमा करिब १७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। यस्तै, इक्विपमेन्ट, मोटर र सवारीसाधनमा गरी कुल २५–२६ अर्ब रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।

अर्थमन्त्री खनालले निर्वाचनका लागि भारत र चीनबाट सहयोग लिइने पनि स्पष्ट पारे। उनका अनुसार यो सहयोग नगद नभई निर्वाचनमा आवश्यक पर्ने सवारीसाधन र उपकरणका रूपमा हुनेछ। भारत र चीनले खुला दिलले सहयोग गर्ने प्रतिबद्धता जनाएको भन्दै करिब ४–५ अर्ब रुपैयाँ बराबरका सवारी र उपकरण सहयोगस्वरूप प्राप्त हुने उनले बताए ।